चितवनका मतगणना स्थलमा तारजाली र सीसीटीभी क्यामेरा जडान

सफल खबर संवाददाता

शनिबार, ०३ मंसिर २०७९, ०७ : ५९
चितवनका मतगणना स्थलमा तारजाली र सीसीटीभी क्यामेरा जडान

चितवन । चितवनमा मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सीसीटीभी क्यामेरा जडान गरिएको छ । जिल्लाका ३ वटै निर्वाचन क्षेत्रको मतगणना गरिने स्थानमा तारजाली र सीसीटीभी क्यामेरा जडान गरिएको हो । 

मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सीसीटीभी क्यामेरा जडानको काम गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । विक्रम संवत् २०७४ सालको स्थानीय तहको निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएको घटना अझै पनि चर्चामा छ । जसका कारण यहाँ मतगणनास्थलको सुरक्षामा विशेष ध्यान दिइने गरेको छ ।

चितवन क्षेत्र नम्बर १ को खैहरनी माविमा मतगणना गर्ने तयारी गरिएको छ । त्यहाँ ४ ठाउँमा मतगणनाका लागि तयारी गरिएको छ । क्षेत्र नम्बर २ को मतगणना चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा गरिने अधिकृत थापाले जानकारी दिए । शुक्रवार सरसफाइ र तारजाली लगाउने काम भएको उनले बताए ।

क्षेत्र नम्बर २ को ४ ठाउँमा मतगणना गर्ने गरी तयारी गरिएको छ । चितवन क्षेत्र नम्बर ३ को कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा मतगणनाको तयारी गरिएको छ । यहाँ २ ठाउँमा मतगणना गर्ने गरी संरचना निर्माण गरिएको छ ।

अधिकृत थापाले विगतमा मतपत्र च्यातिएर दाग लागेको भन्दै त्यसलाई मेटाउनका लागि सबै राजनीतिक पार्टीहरूलाई आफूले अनुरोध गरेको बताए । उनले जिल्लाभर मतदान र मतगणनास्थल निर्माणको काम लगभग सकिएको जानकारी दिए । उनले सबै ठाउँमा आवश्यकताअनुसार कर्मचारी खटाइएको बताए ।

प्रतिक्रिया दिनुहोस