आरिफ र गुलशनको ब्याटिङमा नेपाल विजयी

सफल खबर संवाददाता

बुधबार, ३० कार्तिक २०७९, १६ : ३९
आरिफ र गुलशनको ब्याटिङमा नेपाल विजयी

काठमाडौं । दोस्रो एक दिवसीय खेलमा नेपालले युएईलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले युएईलाई ३ विकेटले पराजित गरेको हो । युएईले दिएको १९२ रनको लक्ष्य नेपालले ४७.५ ओभरमा ७ विकेट गुमाउँदै पुरा गर्यो । 

जितसँगै सिरिज १-१ को बराबरी अवस्थामा पुगेको छ । सोमबार सम्पन्न पहिलो एक दिवसीय खेलमा नेपालले युएईलाई ८४ रनको नतिजा सुम्पिएको थियो । नेपालको जितमा गुलशन झाले सर्वाधिक ३७ रनको योगदान दिए । आरिफ शेखले अविजित ३३ रन, सोमपाल कामीले १६ रन, कुशल भुर्तेलले ३५ रन बनाएर आउट हुँदा ज्ञानेन्द्र मल्लले २६ रन बनाए । दीपेन्द्र सिंह ऐरीले १३ रन जोड्दा कप्तान रोहित पौडेलले ८ रन जोडे ।

युएईका स्पिनर रोहन मुस्तफाले १० ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । हजरत बिलालले दुई र बासिल हामिदले एक विकेट लिए ।यसअघि टस जितेर सुरुआती ब्याटिङ गरेको युएईले ४३.२ ओभरमा १० विकेट गुमाउँदै १९१ रन बनाएको थियाे । 

युएईका लागि वसीम मुहम्मदले अर्धशतकिय पारी खेले । उनले ३ चौका र ४ छक्काको मद्दतमा ५० रन जोडे । अन्य खेलाडीले अर्धशतकिय पारी खेल्न सकेनन् । वृत्य अरविन्दले २५, सीपी रिजवानले २२, अलिशान शराफुले ३५, विष्णु सुकुमारनले १५ र बासिल हमिदले २४ रनको योगदान गरे । 

नेपालका लागि सोमपाल कामी र ललित राजवंशीले समान तीन/तीन विकेट लिए । करण केसी, गुलशन कुमार झा, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेलको नाम एक/एक विकेट रह्यो ।युएई र नेपालबीचको तेस्रो तथा निर्णायक खेल शुक्रबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस