ओली संविधान, लोकतन्त्र र व्यवस्था मास्ने अभियानमा सक्रिय रहेको वर्षमान पुनको आरोप

सफल खबर संवाददाता

शनिबार, २६ कार्तिक २०७९, १३ : १९
ओली संविधान, लोकतन्त्र र व्यवस्था मास्ने अभियानमा सक्रिय रहेको वर्षमान पुनको आरोप

रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले नेकपा एमालेका अध्यक्ष केपी ओलीले अझै संविधान, लोकतन्त्र र व्यवस्था मास्ने अभियानमा सक्रिय रहेको आराेप लगाएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले राजावादी र विखण्डनकारीहरुको अपवित्र गठबन्धन बोकेर चुनावमा भोट माग्दै हिँडेको आरोप पुनले लगाएका हुन् ।आफूहरुले विगतमा ओलीबारे गर्दै आएको टिप्पणी उनको चुनावी गठबन्धनमा रहेका दल र व्यक्तिहरुका अनुहार र चरित्रबाट प्रष्ट भएको पुनको भनाइ थियो । ‘आज फेरि प्रतिगामी सोच राख्नेहरु, संविधानमाथि पटकपटक प्रहार गर्नेहरु चुनावी गठबन्धनका नाममा जुर्मुराई रहेका छन् । लोकतान्त्रिक वाम गठबन्धनविरुद्ध अपवित्र खालको गठबन्धन बनेको छ’, गृहजिल्ला रोल्पाको सुलैचौधरमा लोकतान्त्रिक वाम गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पुनले भने, ‘पटकपटक संविधान च्यात्नेहरु, प्रतिगमनको प्रयास गर्ने, लोकतन्त्रमाथि चुनौती खडा गर्नेहरु, हिजोका राजावादीहरु, मधेसलाई अलग राज्य बनाउन चाहनेहरु, विभिन्न खाले विखण्डनवादी र साम्प्रदायिक सोच राख्ने शक्ति तथा व्यक्तिहरुको प्रतिगामी मोर्चा जनताविरुद्ध खडा गरिएको छ । हामी मंसिर ४ मा यसलाई परास्त गर्नैछौँ ।’ पुनले केपी ओलीले जनताले स्थायित्व र विकासका लागि ०७४ को निर्वाचनमा दिएको जनमतमाथि अपमान गर्दै दुईपटकसम्म प्रतिनिधिसभा विघटन गरेपछि त्यसको प्रतिवादका लागि गठवन्धन निर्माण गरेको बताए ।

राज्यका सबै संयन्त्र आफ्नो नियन्त्रणमा लिने तथा संविधान र व्यवस्थामाथि हमला गरेर ओलीले निर्वाचित तानाशाह बन्न खोजेपछि उनलाई रोक्न गठबन्धन निर्माण गरिएको चर्चा पुनले गरे ।

‘देशमा प्रतिगमन भयो । दुईपटक संसद विघटन गरियो । लोकतन्माथि प्रहार भयो । संविधान च्यात्ने काम भयो । नेपाल जनताका आकांक्षामाथि प्रहार गर्ने काम भयो । त्यसलाई बचाउने क्रममा हामीले लोकतापन्त्रिक-वाम गठबन्धन बनायौँ । सडकबाट, अदालतबाट, विभिन्न मोर्चाहरुबाट हामीले प्रतिवाद गरेर संविधान र लोकतन्त्रको रक्षा गर्यौँ । यो सडकबाट निर्माण गरेको गठबन्धन हो । राजनीतिक आधारमा निर्माण गरेको गठबन्धन हो । लोकतन्त्रको रक्षाको लागि राजनीतिक स्थायित्वको लागि बनाइएको गठबन्धन हो’, उनले भने ।

स्थानीय निर्वाचनमा गरिएको गठबन्धनले देशैभर राम्रो परिणाम आएको र त्यसले धेरै हदसम्म प्रतिगमनलाई कमजोर बनाउने काम गरेको भन्दै यसपटककको चुनावीले प्रतिगमनले घुँडा टेक्ने बताए ।

प्रतिक्रिया दिनुहोस