सर्लाही–२ मा महिन्द्र राय यादव र राजेन्द्र महतोबिच कडा प्रतिष्पर्धा

सफल खबर संवाददाता

शुक्रबार, २५ कार्तिक २०७९, ११ : २०
सर्लाही–२ मा महिन्द्र राय यादव र राजेन्द्र महतोबिच कडा प्रतिष्पर्धा

काठमाडौं । लहरै साइकल गुडाउँदै अघि बढिरहेका आठजना साइकलयात्री देखिन्छन् । उनीहरू छुट्टाछुट्टै साइकलमा विभिन्नथरी नारा लेखिएको पोस्टर झुन्ड्याएर पैदलै साइकल गुडाउँदैछन् । पछिपछि राजेन्द्र महतो आफ्ना कार्यकर्ताहरूसहित असिनपसिन हुँदै भोट माग्दैछन् । 

कार्तिक २० गते सर्लाहीको कोडैना गाउँपालिकाको सुखचैना गाउँमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतो सेतो धोती, कुर्ता, गम्छा र चप्पल लगाएर भोट मागिरहेका अवस्थामा भेटिएका थिए । गर्मीमा हिँडेका कारण उनको अनुहार घामले डढेको प्रस्ट देखिन्थ्यो । पसिनाले निथ्रुक्क भएका महतो घरदैलोको क्रममा स्थानीय मतदाताको घरघर पुगेर भोट मागिरहेका थिए ।

यसपटक मधेशवादलाई जिताउन साइकल छापमा भोट हाल्नुपर्छ भन्दै उनी भोट मागिरहेका थिए । त्यसबाहेक विकास तथा समृद्धिका लागि पनि यसपटक आफूलाई जिताउनुपर्छ भन्दै उनी मतदातालाई सम्झाइबुझाइ गर्दैथिए ।  जवाफमा मतदाताहरू सर्लाही छोडेर गत चुनावमा धनुषा किन भागेको भन्दै प्रतिप्रश्न पनि गर्ने गर्थे । जे भएपनि फर्किनुभयो, हामी भोट तपाईंलाई नै दिन्छौं भनेर मतदाताहरू उनलाई आश्वस्त पार्थे । त्यो सुनेर उनी मुसुक्क हाँस्दै अघि बढ्थे । 

धनुषा–३ छोडेर आफ्नै गृहजिल्ला सर्लाही–२ फर्किएका राजेन्द्र महतोले ‘मधेशवाद’ ब्रान्डलाई चुनावको प्रमुख हतियार बनाएर प्रचारप्रसार गरिरहेका छन् । उनकै भाषामा अपूर्ण संविधानलाई संशोधन गर्ने, बहिष्करणमा पारिएकालाई अधिकारसम्पन्न बनाउने अनि मधेश आन्दोलनका एजेन्डालाई जीवित राख्ने नाराका साथ महतोले चुनावी प्रचार गरिरहेका छन् । त्यसबाहेक विकास र समृद्धिलाई पनि प्राथमिकतामा राखेर उनी जनतामा गइरहेका छन् ।

उनले घरदैलो र चुनावी कोणसभामा बोल्दै विगत १५ वर्षमा त्यस क्षेत्रमा कुनै पनि विकास नभएको भन्दै प्रतिस्पर्धी उम्मेदवारको आलोचना पनि गरिरहेका छन् ।लोसपाका वरिष्ठ नेता समेत रहेका महतो विना संगठन आफ्नै बलबुतामा चुनावमा होमिएका छन् । २०७० सालको चुनावमा सर्लाही– २ मा तत्कालीन तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महिन्द्र राय यादवबाट महतो पराजित भएका थिए । 

२०७४ सालमा धनुषा– ३ पुगेर नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिलाई हराउँदै उनी संसद्मा पुग्न सफल भएका थिए । तर यसपटक फेरि उनी आफ्नै पुरानो क्षेत्रमा फर्किँदा पुरानै प्रतिद्वन्द्वीसँग भिड्नुपरेको छ । अर्थात्, उनको प्रतिस्पर्धा नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवसँग हुँदैछ । यादव यसपटक नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्दैछन् । उनी सर्लाही– २ का निवर्तमान सांसद पनि हुन् । 

प्रतिक्रिया दिनुहोस