लिङ्देनको प्रश्न- ८० वर्षका देउवालाई जिताएर देश बन्छ ?

सफल खबर संवाददाता

विहीबार, २४ कार्तिक २०७९, १३ : २०
लिङ्देनको प्रश्न- ८० वर्षका देउवालाई जिताएर देश बन्छ ?

सिन्धुपाल्चोक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले पाका नेताहरुलाई जिताएर देश नबन्ने भन्दै एक पटक राप्रपालाई जिताउन मतदातासँग आग्रह गरेका छन् ।

चुनावी प्रचारको क्रममा बिहीबार सिन्धुपाल्चोक आएका लिङ्देनले ८० बर्ष पुग्न लागेका कांग्रेस सभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्री बन्दा देश बन्छ त ? भन्दै प्रश्न गरे ।

चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले एकचोटी यो देश बनाउन राप्रपालाई मद्दत गर्न आग्रह गर्दै भने, ‘एकचोटी राप्रपालाई यो देश बनाउने मौका दिनुपर्यो । यो राप्रपालाई मद्दत हुँदैन । तपाईहरुलाई नै मद्दत हुन्छ ।’

कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताहरुले पनि छातीमा हात राखेर तीनै पार्टीका नेताहरुलाई कति पटक भोट दिँदा देश बन्छ होला ? भन्दै उनले प्रश्न गरे । उनले भने, ‘शेरबहादुर देउवा आज पाँचौपटक यो देशको प्रधानमन्त्री हुनुहुन्छ । ७९ वर्षको उमेरमा हुनुहुन्छ । के उहाँलाई छैठौचोटी ८० वर्षको उमेरमा प्रधानमन्त्री बन्ने मौका दिँदाचाहिँ देश बन्छ होला त ?’ लिङदेनको प्रश्न थियो ।

उनले अरु पार्टीले नेपाललाई विकास गर्नुको साटो अरवियनको नोकर उत्पादन गर्ने काममात्रै गरेको टिप्पणी गरे । उनले आजै सिन्धुलीमा आयोजित राप्रपाको चुनावीसभालाई सम्बोधन गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस