आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउँछ : सुवास नेम्वाङ

सफल खबर संवाददाता

बुधबार, २३ कार्तिक २०७९, २१ : ०५
आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउँछ : सुवास नेम्वाङ

काठमाडौं। नेकपा (एमाले)का उपाध्यक्ष तथा इलाम क्षेत्र नं २ प्रतिनिधिसभाका उम्मेदवार सुवासचन्द्र नेम्वाङले संसदीय प्रणालीमा विश्वास गर्ने एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन् । मङ्सिर ४ पछि एमाले बहुमतसहित जनताको मत लिएर सिंहदरबार पस्ने दाबी गर्दै नेम्वाङले जनतालाई मत दिन आग्रह गरे । 

इलाम नगरपालिका–९ वडा कमिटीले आयोजना गरेको चुनाव प्रसार–प्रचार कार्यक्रममा उनले देशव्यापीरूपमा आफ्ना एजेण्डासहित एमाले हाल जनताका घर–घरमा पुगेको जानकारी दिए । विगत वर्षमा अन्य निर्वाचन क्षेत्रमा समेत सघाउन जाने नेता नेमवाङले यसपटक यहाँका जनतालाई बुझाउनसमेत बाहिर जान नभ्याउने बताए । 

निर्वाचनबाट जनताले काम गर्नसक्ने सरकार बनाउने उनको दाबी छ । नेता नेम्वाङले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि हुँदासमेत सरकार चुप लागेर बसेको आरोप लगाए । उनले आफ्नो पार्टीले घोषणापत्र सार्वजनिक गरिसकेको बताउँदै सोहीअनुसार अघि बढ्ने बताए ।

 नेता नेम्वाङ हाल इलाम क्षेत्र नं २ मा मत माग्न घरदैलो तथा चुनावीसभामा व्यस्त छन् । 

प्रतिक्रिया दिनुहोस