सवा आठ करोड खर्चेर देवघाटधाममा शिव मन्दिर

शनिबार, ०१ पुस २०७४, ०८ : ३०
सवा आठ करोड खर्चेर देवघाटधाममा शिव मन्दिर

देवघाटधाम । पवित्र तीर्थस्थल देवघाटधाममा आठ करोड २५ लाख रुपैयाँको लागतमा पाञ्चायन शिव मन्दिर निर्माण भइरहेको छ । देवघाटधामस्थित गलेश्वर आश्रम नजिकै निर्माण भइरहेको शिव मन्दिरमा माघे संक्रान्तिका दिन नर्मदेश्वर भगवान शिवको प्राण प्रतिष्ठा गरिने गलेश्वर आश्रमका पीठाधीश स्वामी आत्मानन्द गिरिजी महाराजले जानकारी दिनुभयो । सोही मन्दिरमा माघ २१ गतेदेखि फागुन २ गतेसम्म धनधान्याञ्चल विराट महायज्ञको आयोजना गर्न लागिएको छ ।


नेपालको प्रमुख तीर्थस्थल पशुपतिनाथ मन्दिरको झल्को दिने गरी निर्माण गर्न लागिएको शिव मन्दिरमा चार वटा ढोका रहेका छन् । मल्लकालीन मन्दिरजस्तो बनाउन सालको काठमा कलात्मक बुट्टा कुँदेर निर्माण गरिएका ढोका र टुँडाल निर्माणमा मात्रै तीन करोड रुपैयाँभन्दा बढी खर्च लागेको छ ।

‘सालको दुई हजार आठ सय क्युबिक फिट काठ प्रयोग गरेका छौँ’ स्वामी आत्मानन्दले भन्नुभयो, ‘काष्ठकला निर्माण र फिटिङको लागिमात्रै एक करोड ५० लाख रुपैयाँ कालीगढलाई छुट्याएका छौँ ।’ काष्ठकलाका लागि काठमाडौँ, भक्तपुर र ललितपुरबाट आएका कलाकारले काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

मन्दिरमा प्रयोग हुने मार्बल र ढुंगा भारतको जयपुरबाट ल्याइएको छ । कलात्मक इँटा भक्तपुरबाट ल्याएर मुख्य प्रवेशद्वार र मन्दिरका भित्ताहरु सजाइएका छन् । मन्दिरको छाना पित्तलको रहेको छ ।

देवघाटधाममा गंगा स्नानका लागि आउने भक्तजनले भव्य मन्दिरको चाहना राखेकोले शिव मन्दिर निर्माण गरिएको स्वामी आत्मानन्दले बताउनु भयो । ‘देवघाटमा साना मन्दिर सयौँको संख्यामा छन्, तर साना मन्दिरमा भक्तजनको आँखा नपर्ने भएकोले भव्य मन्दिर निर्माण गरिएको हो’ स्वामी आत्मानन्दले भन्नुभयो, ‘मन्दिर सम्पन्न गर्न आठ करोड २५ लाख रुपैयाँ लाग्ने अनुमान गरेका छौँ । अहिलेसम्म दानवीर भक्तजनहरुको सहयोगबाटै मन्दिर निर्माण कार्य भइरहेको छ ।’

देवघाटधाममा निर्माण भइरहेको विशाल शिव मन्दिर देशकै गौरवको रुपमा हजारौँ वर्षसम्म रहने स्वामी आत्मानन्दले बताउनु भयो । उहाँका अनुसार, मन्दिरको मुख्य भागमा नमर्देश्वर भगवान शिवको मूल मुर्ती रहनेछ । मन्दिरका चार वटा भित्तामा विष्णु, दुर्गा, गणेश र सूर्यको मुर्ती रहनेछ । ‘शिव पाञ्चायन विधिले प्राण प्रतिष्ठा हुनेछ’ उहाँले भन्नुभयो, ‘मन्दिर परिसरमा एक सय आठ शिवलिङ्ग प्रतिष्ठा गर्दैछौँ ।’

हरेक वर्ष साउन महिनामा देवघाटधाममा आउने लाखौँ भक्तजनलाई मध्यनजर गरेर शिवलिङ्ग स्थापना गरेर प्रतिष्ठा गर्न लागिएको स्वामी आत्मानन्दको भनाइ छ । ‘सिमेन्टले बनेका शिवलिङ्ग शास्त्रीय प्रमाणले बनेका हुँदैनन्’ उहाँले भन्नुभयो, ‘हामीले शास्त्रीय प्रमाण अनुसार नर्मदेश्वर शिवलिङ्ग स्थापना गर्दैछौँ ।’ निर्माणको अन्तिम चरणमा पुगेको मन्दिर नौ रेक्टर स्केलसम्मको भूकम्प प्रतिरोधी भएको उहाँले जानकारी दिनुभयो ।

‘मन्दिर निर्माणमा सरकारी रकमको प्रयोग भएको छैन, भक्तहरुकै सहयोगबाट निर्माण गरिएको हो’ स्वामी आत्मानन्दले भन्नुभयो, ‘मन्दिर निर्माणमा प्राविधिक कारणले केही विलम्ब भयो होला, तर आर्थिक कारणले विलम्ब भएको छैन ।’ 

आर्थिक अभाव नहोस् भनेर मन्दिर निर्माणमा सहयोग गर्ने उद्देश्यले माघ २१ गतेदेखि धनधान्याञ्चल विराट महायज्ञ गर्न लागिएको उहाँले बताउनु भयो । महायज्ञबाट बचेको रकम वैदिक सनातन धर्मको संरक्षण र संवद्र्धन एवं गुरुकुलमा स्नातकोत्तर तहको संस्कृत शिक्षाका लागि प्रयोग गरिने बताइएको छ ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले देवघाटधाममा पशुपतिनाथकै शैलीमा निर्माण भइरहेको मन्दिर सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटक आगमन बढ्ने बताउनु हुन्छ । उहाँले निर्माणाधीन शिव मन्दिर देवघाटधामको मात्र नभई देशकै आकर्षक पर्यटकीय गन्तव्य बन्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस