‘नो नट अगेन’ सम्बन्धी रिटमा अल्पकालीन अन्तरिम आदेश

सफल खबर संवाददाता

आइतबार, २० कार्तिक २०७९, १६ : ४४
‘नो नट अगेन’ सम्बन्धी रिटमा अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले ‘नो नट अगेन’ सम्बन्धी दायर रिटम अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता अनिल आचार्यले दायर गरेको रिटमाथि आइतबार न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले यस्तो आदेश दिएको छ । 

कारण देखाउ आदेशमार्फत अदालतले दुबै पक्षलाई छलफलका लागि बोलाएको छ । सामाजिक सञ्जालको पेज ’नो नट अगेन’ लगायतका पेजलाई बन्देज लगाउने निर्वाचन आयोगको निर्णयविरूद्ध अदालतमा रिट परेको हो । 

अधिवक्ता आचार्यले नेपालमा अहिलेसम्म सकारात्मक भोटको मात्रै व्यवस्था रहेको र सर्वोच्च अदालतले नै ‘नो भोट’ को व्यवस्था गर्न कानुन बनाउन निर्देशन दिइसकेको अवस्थामा ‘नो नट अगेन’का पेजमाथि बन्देज लगाउने निर्णय र चेतावनी कानुनसम्मत नभएको भन्दै त्यस्तो निर्णय बदर गराउन माग गर्दै रिट दर्ता गराएका थिए । 

जनताले मन नपरेका उम्मेदवारमाथि नो भोटको व्यवस्था गर्न नपाएको अवस्थामा जनताले स्वतस्फूर्तरुपमा ‘नो नट अगेन’ को अभियान गर्दा निर्वाचन आयोगले वाक स्वतन्त्रतामाथि हस्तक्षेप गरेको रिट निवेदनमा जिकिर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस