मेरो कार्यकालमा एक सय भन्दा बढी कानुनहरु निर्माण भयो : ओनसरी घर्ती

सफल खबर संवाददाता

आइतबार, २० कार्तिक २०७९, १४ : १९
मेरो कार्यकालमा एक सय भन्दा बढी कानुनहरु निर्माण भयो : ओनसरी घर्ती

काठमाडौं । नेपालको पहिलो महिला सभामुख हुन ओनसरी घर्ती ।  मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशको निर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी नेतृ घर्तीले देशको विकास र समृद्धिलाई आफ्नो प्रमुख एजेण्डा रहेको बताएकी छन्। 
घर्तीसँग प्रेस सेन्टर नेपालका लागि पुष्पा महराले गर्नुभएको कुराकानीको अंशः

तपाई नेपालको पहिलो महिला ​ सभामुख । तपाईको कार्यकालमा गर्नुभएका राम्रा कामहरु केके हुन् ? 

मैले मेरो कार्यकालमा एक सय भन्दा बढी कानुनहरु निर्माण भयो । म सभामुख भएका बेला मेरो विशेष पहलमा महिला हकहित तथा संघ÷प्रदेश र स्थानीयको आवश्यकताका आधारमा कानुन परिमार्जन गरियो । वर्षाेदेखि जरा गाडेर बसेको मुलुकी ऐनलाई परिमार्जन गर्न सकियो । मौलिक हकसम्बन्धी विभिन्न कानुन निर्माण भयो । उत्तम कुरा त महिला हक हितका लागि कानुन निर्माण गर्न सफल भएँ । महिलाको ४० प्रतिशत सहभागिता, अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख उपप्रमुखमा एक महिला नै हुनुपर्ने भन्ने मेरै बेलामा भएको हो । त्यस्तै पैतृक सम्पत्तिमा जम्नसिद्ध छोरा सरह छोरीको पनि समान हक हुनुपर्ने व्यवस्था ल्याइयो । 

तपाईका चुनावी एजेण्डाहरु केके छन् ? 

हरेक तह र तप्काका जनसमुदायको भावनालाई सम्बोधन हुने गरी कानुन निर्माण गर्ने । विकास निर्माणका सवालमा जनताको पहुँच सरकारसम्म पु¥याउनेछु । . स्थानीय तवरमा शंखरापुर नगरपालिकालाई पर्यटकीय नगरी बनाउने छु । कागेश्वर मनोहरालाई स्पोर्ट सिटी बनाउने र काठमाडौं महानगरपालिकभित्र पर्ने वडा नं. ९ र ३२ को शहरलाई कोर सिटी अर्थात सफा, सुन्दर र गुणस्तरीय विकास गराउने छु । यस क्षेत्रमा रहेका करिडोरको समस्यादेखि जग्गा एकीकरणको समस्या, मुआब्जाका समस्यालगायत विभिन्न समस्याहरु समाधानका लागि पहल गर्नेछु । जनताको गाँस बास र कपासको व्यवस्था तथा जनताको दैनिक जीवनमा आईपर्ने खानेपानी, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा सुधारका लागि विशेष पहल गर्नेछु । 

यस क्षेत्रको मुख्य समस्याहरु के के छन् ? तपाईले जित्नुभएपछि ति समस्या समाधान गर्नुहुने छ ? 

यहाँ मुख्यतः बाटोको समस्या छ । त्यस्तै यहाँ खानेपानीको बिकराल समस्या छ । जहाँ मेलम्चीको पानीको पहुँच नपुगेको स्थान पनि छ, सुन्दरी जलको पहुँच नभएको स्थान पनि छ । अव्यवस्थित करिडेर, अव्यवस्थित ढल निकास तथा जग्गा एकीकरणको कुरा समयमै कार्यान्वयन नहुँदा जनतामा समस्यामा छन् । त्यस्तै सफा सुन्दर र गुणस्तरीय विकास हुनुपर्ने जनताको माग छ । नजिकै रहेको शिवपुरी वन्यजन्तु आरक्षणबाट जंगली जनावरहरु आएर मानिसलाई क्षति पु¥याउने समेत गरेका छन् । त्यसको व्यवस्थापन समेत गर्नुछ । 

तपाई रोल्पाको मान्छे, किन काठमाडौंबाट चुनाव लड्ने निर्णय गर्नुभयो ? 

मेरो उम्मेदवारी महिलाहरुको प्रतिनिधित्व र प्रोत्साहन स्वरुप हो । त्यस्तै मेरो पार्टी र गठबन्धनले यस क्षेत्रमा नै महिला उम्मेदवार हुनुपर्छ भनेर निर्णय ग¥यो । त्यस्तै एक राजनीतिज्ञका लागि भुगोलको सीमा हुँदैन । जनताको सेवा जहाँ गएर पनि गर्न सकिन्छ । म पनि जनताको सेवा गर्न तम्तयार भएकी हुँ । मलाई अवसर दिनुस् । म गरेर देखाउनेछु । अर्काे कुरा काठमाडौं भनेको विज्ञ र वृद्धिजिवीहरुको बसोबास रहेको स्थान पनि हो, यहाँ उनीहरुसँगै बसेर काम गर्दा सिकेका ज्ञानहरुलाई मैले रोल्पा मात्रै होइन, देशैभरी बाँड्न सक्छु । 

यो निर्वाचनमा माओवादीलाई नै मत किन दिने ? 

यस पटक जनताले मेरो गठबन्धनलाई मत दिनुपर्छ । हामी प्रतिगमनको विरुद्धमा र परिवर्तनको पक्षमा उभिएका छौं । संविधानको रक्षा र स्थिर सरकार बनाउँदै जनताको समृद्धिको लक्ष्य राखेका छौं । परिवर्तन खोजिरहनु भएका जनताले गठबन्धनलाई भोट दिनुहुन्छ । त्यस्तै यो पटक महिलालाई भोट दिनुहोस् भन्न चाहन्छु । महिला कमजोर छैनन् । काम गर्न सक्छन् भन्ने म प्रमाणित गरिदिनेछु । 

आम मतदाताबाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ? 

जनसमुदायहरुले मलाई निकै स्वागत गर्नुभएको छ । उहाँहरुले आफ्नै छोरी, चेली, दिदी बहिनीको रुपमा लिनुभएको छ । समुदायहरुसँग हाम्रो छलफल हुन्छ । त्यसबेला उहाँहरुको तर्फबाट पनि केही प्रश्नहरु आउँछन्, म त्यसको जवाफ दिन्छु र उहाँहरु मबाट निकै आशावादी पनि हुनुहुन्छ र मलाई सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनुभएको छ । २ नम्बर क्षेत्रका वासिन्दाहरुमा एक प्रकारको उत्साह छ । 

चुनाव जित्नेमा कत्तिको विश्वास छ ? 

चुनाव जित्नेमा म ढुक्क छु । उसैपनि गठबन्धनको मतले हामी धेरै माथि छौ । त्यस्तै चुनावी प्रचार प्रसारमा जनताको प्रतिक्रियाले पनि हामी निकै अगाडि छौं । 

प्रतिक्रिया दिनुहोस