आयोगद्वारा निर्वाचन तयारीबारे उपराष्ट्रपतिलाई ब्रिफिङ

सफल खबर संवाददाता

शुक्रबार, १८ कार्तिक २०७९, १४ : १४
आयोगद्वारा निर्वाचन तयारीबारे उपराष्ट्रपतिलाई ब्रिफिङ

काठमाडौं । उपराष्ट्रपति  नन्दबहादुर पुन ‘पासाङ’ले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन निष्पक्ष, भयरहित र स्वतन्त्र रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । उनले आगामी निर्वाचनलाई हालसम्मकै कम विवादित तथा बढी निष्पक्ष र स्वतन्त्र भएको स्थापित गर्ने चुनौती निर्वाचन आयोगसँग भएको बताए । 

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन तयारीबारे जानकारी गराउन शुक्रबार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृह पुगेका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र निर्वाचन आयोगका अन्य पदाधिकारीसँग कुरा गर्दै उपराष्ट्रपतिले निर्वाचनमा अधिकतम मतदाता सहभागी हुन सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । 

 उनले आयोगले गरिरहेको निर्वाचनको तयारी बारेमा खुसी व्यक्त पनि सो क्रममा गरे ।‘स्थानीय तहको निर्वाचन सम्पन्न गरेकोमा म निर्वाचन आयोगलाई बधाई तथा धन्यवाद दिन चाहन्छु’, उनले भने, ‘प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको आयोगले जुन तयारी गरिरहेको छ, यसमा मलाई निकै खुसी लागेको छ । निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा निर्वाचन सम्पन्न हुनेमा म विश्वस्त छु ।’

उपराष्ट्रपतिसँगको भेटमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा निर्वाचन सम्पन्न गराउने प्रतिबद्धतासहित आयोगले तयारीका कामलाई तीव्र बनाएको बताए । उनले मतपत्र छपाईको काम सम्पन्न भएको जानकारी गराउँदै उपत्यका बाहिरका जिल्लाहरुमा ढुवानीसमेत भइसकेको बताए । 

उनले मतदान सम्पन्न भएपछि आयोगले छिटो भन्दा छिटो मतगणना गरेर परिणाम घोषणा गर्ने बताए ।
 

प्रतिक्रिया दिनुहोस