धनगढीका अवैध संरचनामा चल्यो उपमहानगरको डोजर

सफल खबर संवाददाता

विहीबार, १७ कार्तिक २०७९, ०९ : ४२
धनगढीका अवैध संरचनामा चल्यो उपमहानगरको डोजर

धनगढी । कैलालीको धनगढीमा मापदण्डविपरीत बनेका संरचना हटाउन सुरु गरिएको छ। बुधबारदेखि धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन डोजर चलाएको हो।

यसअघि भदौ १३ मा उपमहानगरपालिकाले सडक छेउका संरचना हटाउन पत्राचार गरेको थियो। सडकको विस्तृत योजना प्रतिवेदन ९डिपीआर० तयार भइरहेको र सडकको दायाँ(बायाँ १५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने भवन हटाउन घर धनीलाई पत्राचार गरेको थियो।

तर घरधनीहरूले त्यसको बेवास्ता गरेपछि उपमहानगरपालिकाले संरचना हटाउन थालेको हो।संरचना हटाउन कार्यस्थलमा पुगेकी धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले महानगरपालिकाले पत्राचार गर्दा बेवास्ता गरेकाले संरचना भत्काउन थालेको बताइन्।

उनले बुधबारबाट सुरु भएको अभियानलाई निरन्तरता दिने पनि बताइन्।मापदण्डविपरीत बनेका संरचना हटाउने अभियान पछिल्लो समय देशव्यापीरूपमा बढ्दै गइरहेको छ।

यसअघि काठमाडौँ, पोखरा ममहानगरपालिका र हेटौँडा उपमहानगरपालिकाले पनि अवैध संरचनहरूमा डोजर चलाएको थियो।