कोरोनाको संक्रामक सबभेरियन्ट ‘एक्सबीबी’ नेपालमा पनि भेटियो

सफल खबर संवाददाता

आइतबार, ०६ कार्तिक २०७९, २१ : २१
कोरोनाको संक्रामक सबभेरियन्ट ‘एक्सबीबी’ नेपालमा पनि भेटियो

काठमाडौं । नेपालमा  कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी पनि भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक जना नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २१ साउन देखि १४ असोजसम्म कोभिड – १९ को विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमूनाहरुको छनौट गरी केही नमूनाहरुको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनको सबभेयिन्ट एक्सबीबी पहिचान मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारिले बताए ।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म सो भेरियन्ट विश्वका २६ देशमा पुगिसकेको छ ।

सार्स कोभ – २ भाइरसको ओमिक्रोन भेरियन्टको मूलबाट आएको उच्च दरमा रुप फेरिरहेको यो भेरियन्ट गतवर्षको सुरुवातमा उच्च दरमा फैलिएको थियो । एक्सबीबी भने विभिन्न कारणले अहिलेसम्मकै सबैभन्दा खराब भाइरस मानिएको छ ।

सो भेरियन्ट हाल देशका विभिन्न ठाउँमा फैलिएको र कोरोना संक्रमण बढेको मन्त्रालयको भनाइ छ । दिपावली, छठजस्ता पर्वमा संक्रमण अझै बढ्न सक्ने भन्दै मन्त्रालयले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस