गठबन्धनबाट संविधान र सङ्घीयताको रक्षा भयो : प्रधानमन्त्री देउवा

सफल खबर संवाददाता

आइतबार, ०६ कार्तिक २०७९, १९ : २७
गठबन्धनबाट संविधान र सङ्घीयताको रक्षा भयो : प्रधानमन्त्री देउवा

काठमाडौँ।  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनबाट संविधान र सङ्घीयताको रक्षा भएको बताएका छन् ।

पाँचदलीय गठबन्धनको कर्णाली प्रदेशस्तरीय संयुक्त भेलालाई सम्बोधन गर्न आज वीरेन्द्रनगर सुर्खेतमा पुगेका प्रधानमन्त्री देउवाले गठबन्धन ऐतिहासिक आवश्यकता भएको बताए । परिवर्तनकारी शक्तिहरु एक ठाउँमा उभिएकाले गठबन्धन लामो समयसम्म रहने उनले दाबी गरे ।

प्रधानमन्त्री देउवाले भने, “संविधानलाई टोकरीमा फ्याँकिदिने काम गरेकाले गठबन्धन जन्मिएको हो । यसको जीतका लागि सबै मिल्नुको विकल्प छैन । गठबन्धनविरुद्ध उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता गर्न आग्रह गर्दछु ।” उनले कर्णालीमा अझ गठबन्धन आवश्यक भएकाले एक भएर लाग्न प्रदेशका नेता तथा कार्यकर्तालाई अनुरोध गरे ।

कर्णाली आर्थिक समृद्धिको प्रमुख आधार भएको बताउँदै प्रधानमन्त्री देउवाले यहाँको विकास र समृद्धिका लागि सरकार लागिरहेको जनाए । “गठबन्धन दललाई यो चुनावमा जिताउनुस्, पाँच वर्षभित्रै हामी परिणाम देखाउँछौँ”, उनले भने ।

सो संयुक्त भेलालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कर्णाली तथा सुदूरपश्चिमले खेलेको भूमिकालाई गठबन्धनले गहिरो अनुभूति गरेको र त्यसको न्याय गर्न नेतृत्व सचेत रहेको बताए । कर्णालीबाट नै प्रतिगमनविरुद्धको विद्रोह भएको उनको भनाइ थियो ।

“प्रतिगमनविरुद्ध यो गठबन्धन जन्मेको हो । यसलाई कसैले पनि हल्का रुपले लिनु हुँदैन”, अध्यक्ष दाहालले भने, “यसले संविधान, सङ्घीयता, लोकतन्त्र, गणतन्त्र, समानुपातिक, समावेशिताको रक्षा गरेको छ । त्यसैले संविधान मिच्नेका विरुद्धको यो गठबन्धन हो ।”

गठबन्धनले कर्णालीमा शत्प्रतिशत जित्ने पूर्ण विश्वास लिएको बताउँदै उनले कर्णालीको विकास र राजनीतिक स्थिरताका लागि जीत आवश्यक रहेको जनाए । गठबन्धन निर्माण भएबाट प्रतिगमनलाई परास्त गर्दै आएको र यो चुनावबाट पनि परास्त गरिने उनले दाबी गरे ।

उत्तेजित नभई संयमताका साथ चुनावी सफलता हात पार्नेगरी गठबन्धनका नेता तथा कार्यकर्तालाई अभियानमा कटिबद्धताका साथ लाग्न अनुरोध गर्दै उनले आर्थिक क्रान्तिसहित मुलुकको समृद्धिका लागि पनि गठबन्धनको विजय अपरिहार्य रहेको र यसका निम्ति गठबन्धनका नेताहरुबीचको विचार र भावनाको गहिरो एकताको सन्देश लिएर देशभरि हिँडेको बताए ।

युद्धलाई शान्तिमा रुपान्तरण गर्न तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला, आफू र माधव नेपालको धेरै ठूलो योगदान रहेको स्मरण गर्दै उनले इतिहासको मुद्दालाई महानताका साथ लगिएको र त्यही अनुसार अघि बढ्न अपिल गरे ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले समाजवादको यात्रालाई अगाडि बढाउन गठबन्धन जरुरी रहेको जनाए । ‘‘जनतालाई गरिबी, अशिक्षा र भोकमरीबाट मुक्त पार्न गठबन्धनको जीतले मात्र सुनिश्चित गर्छ”, अध्यक्ष नेपालले भने, “तसर्थ देश र समाज परिवर्तन, जनताको जीवनस्तर उकास्न, देशको स्वाभिमान माथि उठाउन गठबन्धन गरिएको हो ।”

गठबन्धनको प्रतिबद्धता र घोषणापत्र अगाडि सारिएको बताउनुभएका उनले त्यही प्रतिबद्धता पत्र लिएर घरदैलो गर्न गठबन्धन दलका प्रदेश तथा स्थानीय नेतृत्वलाई अपिल गरे । गठबन्धनको जीतबाट मात्र प्रतिगमन समाप्त पार्न सकिने जनाउँदै उनले देशको उन्नति र प्रगतिका लागि प्रतिबद्ध भएर लागेमात्र ओली प्रवृत्तिलाई परास्त सकिने बताए ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले असंवैधानिक कदमविरुद्ध पाँचदलीय गठबन्धन बनेको बताए । “अहिलेको हाम्रो अभियान भनेकै गठबन्धन दलका उम्मेदवारलाई जिताउने र संविधानको रक्षा गर्ने हो”, उनले भने, “तसर्थ, अब यो दल वा त्यो दल नभन्नुहोला । गठबन्धनका सबै उम्मेदवारहरुलाई आफ्नै उम्मेदवार भनेर भोट हाल्न अनुरोध गर्दछु ।”

कर्णालीका कांग्रेसका नेता तथा कार्यकर्तालाई माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौंडासँग नडराउन आग्रह गरे । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालादेखिको अभियानलाई जोडेर यतिबेला लोकतन्त्रको रक्षा र यसको उन्नतितर्फ अगाडि बढाउने बाटो अवलम्बन गरिएको उनको भनाइ थियो ।

राष्ट्रिय जनमोर्चाका केन्द्रीय समितिका कार्यवाहक अध्यक्ष रश्मीराज नेपालीले गठबन्धन जीतले मात्र समग्र मुलुकको विकास र समृद्धि सम्भव हुने बताए । गठबन्धनको साझा उद्देश्य पूरा गर्न, मुलुकको संविधान, लोकतन्त्र, गणतन्त्र र सङ्घीयताको रक्षाका लागि अबको चुनावी जित गठबन्धनकै पक्षमा ल्याउन उनले पाँचदलीय गठबन्धनका नेता तथा कार्यकर्ताहरुलाई अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस