चुनावमा गरेका ८० प्रतिशत प्रतिवद्धता पुरा गरेँ: पर्यटनमन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

आइतबार, ०६ कार्तिक २०७९, १४ : ३१
चुनावमा गरेका ८० प्रतिशत प्रतिवद्धता पुरा गरेँ: पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले २०७४ को निर्वाचनमा आफूले गरेका प्रतिवद्धतामध्ये ८० प्रतिशतभन्दा धेरै पुरा गरेको बताएका छन्।

काठमाडौँको छाउनीस्थित बाहिटी संगम टोल सुधार समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बाेल्दै उनले यस्ताे बताएका हुन्। मन्त्री श्रेष्ठले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ मा पूर्वाधार विकासतर्फ आफूले गरेका अधिकांश प्रतिवद्धता पुरा गरेको उल्लेख गर्दै आगामी दिनमा उक्त क्षेत्रलाई पर्यटकीय नमुना स्थल बनाउने प्रतिवद्धता व्यक्त गरे।

निर्वाचन क्षेत्रभित्र सडक निर्माण, खानेपानी आयोजनाहरु, सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माण संरक्षण र विकास, चमती जग्गा एकीकरण आयोजना, मनोरञ्जन पार्कहरु निर्माण, सडक पुल, झलुङ्गे पुल तथा आकाशे पुलहरू निर्माणतर्फ अधिकांश चुनावी प्रतिवद्धता पुरा गरेको उनले बताए।

आसन्न निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ बाट बाम-लोकतान्त्रिक गठबन्धनको उम्मेदवार समेत रहेका मन्त्री श्रेष्ठले बसन्तपुर-स्वयम्भु-ह्वाइट गुम्वालाई नमुना पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने आफ्नो योजना रहेको पनि बताए।

विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्र र स्वयम्भूनाथ चैत्य, जीवित देवी कुमारीलाई राख्ने घर, लाखेघर, पवित्र भूमि सीतापाइला, तलेजु मन्दिर जस्ता सम्पदा र इन्द्रजात्रालगायत विभिन्न जात्रापर्वको प्रचलन रहेको क्षेत्रलाई सांस्कृतिक केन्द्रका रुपमा विकास गर्ने र त्यसको प्रत्यक्ष लाभ स्थानीयबासिन्दाले पाउने व्यवस्था गरिने उनको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस