सहमतिविना राष्ट्रिय सभा निर्वाचनसम्बन्धि अध्यादेश ल्याए संसदमा फेल गराउने एमालेको चेतावनी

शुक्रबार, २९ मंसिर २०७४, १५ : ३५
सहमतिविना राष्ट्रिय सभा निर्वाचनसम्बन्धि अध्यादेश ल्याए संसदमा फेल गराउने एमालेको चेतावनी

चितवन, २९ मंसीर ।  नेकपा एमालेले राजनीतिक सहमति नभई सरकारले ल्याएको राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेश मान्य नहुने चेतावनी दिएको छ ।

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले राष्ट्रपति कार्यालयमा विचाराधिन राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेशमा छिटो राजनीतिक सहमति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह समेत गरेका छन् । सरकारले आफूहरुसँग गरेको सहमति विपरित राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेश राष्ट्रपति समक्ष पेश गरेकोमा महासचिव पोखरेलको आपत्ति छ ।

पोखरेलले शुक्रबार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै दलीय सहमतिको आधारमा मात्रै राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेश अघि बढाउन बुद्धिमत्तापूर्ण हुनेतर्फ पनि प्रधानमन्त्री देउवालाई सचेत गराए ।

पोखरेलले सरकारले ल्याएको अध्यादेश राष्ट्रपतिले स्वीकृति दिएपनि त्यो संसदबाट फेल हुने भएकाले त्यसो गर्न नहुने सुझाव पनि सरकारलाई दिए ।

पोखरेलले आगामी सरकारको नेतृत्व पार्टी अध्यक्ष केपी ओलीले गर्ने पनि स्पष्ट पारेका छन् । उनले निर्वाचनको परिणाम,  राष्ट्रिय राजनीतिमा ओलीको खेलेको भूमिका र मुलुकको आवश्यक्तालाई हेर्दा पनि ओलीनै प्रधानमन्त्री हुनेमा विवाद नहुने तर्क पनि गरे ।

पोखरेलले नयाँ सरकार जनताको चाहना र मुलुकको आवश्यक्ता अनुसार अघि बढने पनि बताए । महासचिव पोखरेलले नयाँ सरकार गठन प्रक्रिया र माओवादी केन्द्रसँगको पार्टी एकता सँगसँगै अघि बढने पनि स्पष्ट पारे । उनले देश र जनताको हितमा केन्द्रित भएर पार्टी एकीकरण गर्न लागिएको पनि दोहोर्‍याए ।

प्रतिक्रिया दिनुहोस