महिला क्रिकेटमा पुलिसलाई स्वर्ण

सफल खबर संवाददाता

मंगलबार, ०१ कार्तिक २०७९, १९ : ५५
महिला क्रिकेटमा पुलिसलाई स्वर्ण

काठमाडौं । विभागीय प्रतिद्वन्दी एपीएफ क्लवमाथि ५ रनको रोमाञ्चक जित निकाल्दै नेपाल पुलिस क्लवले नवौं राष्ट्रिय महिला क्रिकेटको स्वर्ण पदक जितेको छ । पोखरा रंगशालामा मंगलवार भएको खेलमा पुलिसले दिएको ९० रनको लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर मात्र ८४ रन जोड्न सक्यो ।

सामान्य लक्ष्यसहित जवाफी ब्याटिङ गरेको एपिएफका लागि रोमा थापाले सर्वाधिका २६ रनको पारी खेलेपनि जितका लागि पर्याप्त भएन । रजमती ऐरीले अविजित १२ रनको पारी खेलेको खेलमा अन्य ब्याटरले भने राम्रो स्कोर छुन सकेनन् । अधिकांस राष्ट्रिय खेलाडीले भरिएको एपिएफकाकी ज्योती पाण्डे र सीता राना मगरले समान ७ रनको पारी खेल्दा इन्दु बर्माले मात्र २ रन जोडिन् ।

ममता चौधरीले ९ रनको पारी खेल्दा सरिता मगरले पनि समान ९ रन नै जोडिन् । एपीएफको इनिङलाई सस्तैमा समेट्ने क्रममा पुलिसकी ईश्वरी बिष्टले सर्वाधिक २ विकेट निकाल्दा रुबिना क्षेत्री, संगीता राई र हिरण्मय रोयले समान १/१ विकेट आफ्नो नाममा लेखाए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ८९ रन जोड्न सफल भएको थियो । पुलिसका लागि काजल श्रेष्ठले सर्वाधिक २७ रनको पारी खेल्दा अर्की ओपनर कविता कुवँरले ११ रनको व्यक्तिगत स्कोर गरिन् ।

सम्झना खड्काले २१ रन बटुल्दा कप्तान रुबिनाले ८ तथा कविता जोशीले १३ त था अपसरी बेगमले २ रन जोडिन् । बलिङतर्फ नेरी थापा, इन्दु बर्मा र सीता राना मगरले समान १÷१ विकेट लिए । यस पराजयसँगै एपिएफ महिला क्रिकेट प्रतियोगितामा रजत पदकमा चित्त बुझाउन बाध्य बन्यो ।

यस्तै मंगलबार नै भएको अर्को खेलमा वागमती प्रदेशले लुम्बिनी प्रदेशमाथि ७ विकेटको जित निकाल्दै काँस्य पदक निकाकलेको छ । लुम्बिनीले दिएको ८८ रनको लक्ष्य पछ्याउने क्रममा वागमती प्रदेशले १६.१ ओभरमा ३ विकेट गुमाएर भेटाउन सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस