काठमाडौँ । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी अनुभवी ब्याटर रुविना क्षेत्री बेलवासेले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा उल्लेखनीय उपलब्धि हासिल गरेकी छिन्। उनले यस विधामा कुल १ हजार रनको आँकडा पार गरेकी हुन्।
काठमाडौँमा सञ्चालन भइरहेको आइसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत नेदरल्यान्ड्ससँगको खेलका क्रममा रुविनाले यो कीर्तिमान पूरा गरिन्। उक्त खेलमा उनले व्यक्तिगत रूपमा ३३ रन जोड्दै करियरको समग्र रनसंख्या चार अङ्कीय सीमामा पुर्याएकी थिइन्। खेलको अन्तिमतिर १९ औँ ओभरमा बनाएको रनसँगै उनले यो उपलब्धि सुनिश्चित गरेकी हुन्।
पूर्वकप्तानसमेत रहेकी रुविनाले आफ्नो टी-२० आई करियरको ७१ औँ इनिङ्समा यो उपलब्धि हासिल गरेकी हुन्। अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा उनले हालसम्म एक शतक र एक अर्धशतक बनाइसकेकी छिन्। उनको सर्वाधिक व्यक्तिगत स्कोर १०१ रन रहेको छ, जुन अविजित रहँदै आएको छ।
नेपाली महिला टोलीबाट टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गर्ने रुविना दोस्रो खेलाडी बनेकी हुन्। यसअघि टोलीकी वर्तमान कप्तान इन्दु बर्माले यो उपलब्धि हासिल गरिसकेकी थिइन्।
इन्दु बर्माले गत अक्टोबरमा मलेसियामा आयोजना गरिएको पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिजका क्रममा १ हजार रन पूरा गरेकी थिइन्। उक्त सिरिजमा नेपालले नेदरल्यान्ड्सलाई ३-२ को अन्तरले पराजित गर्दै सिरिज जितेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ माघ २०८२, १३ : १२
लेखकबाट थप