हिजाब नलगाई प्रतिस्पर्धा गर्ने इरानी खेलाडी  ‘बेपत्ता’

एजेन्सी

मंगलबार, ०१ कार्तिक २०७९, १० : ३६
हिजाब नलगाई प्रतिस्पर्धा गर्ने इरानी खेलाडी  ‘बेपत्ता’

एजेन्सी । हिजाब नलगाई एसियाली क्लाइम्बिङ प्रतियोगितामा भाग लिएकी इरानकी महिला एथलीट एलनाज रेकाबी बेपत्ता भएकी छिन् । बीबीसी पर्शियनलाई प्राप्त जानकारी अनुसार एलनाज सोमबार रातिदेखि आफ्ना साथीहरूसँग सम्पर्कमा नरहेको पाइएको छ ।

एलनाज एसियाली क्लाइमबिङ प्रतियोगितामा भाग लिन दक्षिण कोरियाको राजधानी सियोल पुगेकी थिइन् । प्रतियोगिता अक्टोबर १६ मा भएको थियो ।​ एलनाज इरानको प्रतिनिधित्व गर्दै थिइन् । खेलकुद प्रतियोगितामा पनि इरानी महिलाहरूलाई हिजाब अनिवार्य छ । तर इरानमा विगत एक महिनादेखि हिजाबको विरोधमा मानिसहरूले प्रदर्शन गर्दै आएका छन् ।

बीबीसी फारसीले इरानको टोली बसेको सियोलको होटलमा पनि सम्पर्क गर्‍यो तर टोलीका सबै सदस्य सोमबार बिहानै होटलबाट निस्किएको बताइएको छ ।​ रेकाबीको राहदानी र मोबाइल फोन जफत गरिएको एक स्रोतले बीबीसीलाई बताएको छ । योजना अनुसार इरानको टोली बुधबार स्वदेश फर्किने छ ।

इरानले यो समाचारमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया दिनुहोस