उम्मेदवारले आफू राम्रो र अरु नराम्रो भनेर प्रचार गर्न पाइँदैनः आयुक्त भण्डारी

सफल खबर संवाददाता

सोमबार, ३१ असोज २०७९, १२ : १४
उम्मेदवारले आफू राम्रो र अरु नराम्रो भनेर प्रचार गर्न पाइँदैनः आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्न उम्मेदवारहरुलाई आग्रह गरेको छ । राजनीतिक दलका उम्मेदवारहरु तथा स्वतन्त्र उम्मेदवारहरुले चुनाव प्रचारप्रसार गरेको उजुरी परेसँगैै आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सचेत गराएको हो। आइतबार संचारकर्मीसँग कुराकानी गर्दै निर्वाचन आचारसंहिता कन्द्रीय अनुगमन समितिका संयोजकसमेत रेहेका आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिताअनुसार निर्वाचन हुने दिन भन्दा १७ दिन अगाडीदेखि (कार्तिक १८ गतेदेखि) मात्रै प्रचारप्रसार गर्न पाइने बताए।

आयुक्त भण्डारीले उम्मेदवारहरुले घरदैलो कार्यक्रम गर्न पाउने र त्यसमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने प्रावधानलाई पनि पालना गर्न सचेत गराए । घरदैलोमा बाजागाजा र तामझाम गरिरहेको उजुरी आयोगमा परेको भन्दै उहाँले त्यस्ता कार्य नगर्न आग्रह गरे । घरदैलोमा तामझाम र बाजागाजा गर्नुपनि आचारसंहिता विपरित हुने उनको भनाइ छ । आचारसंहिताको परिधिभित्र बसेर कानूनी सजाय नपाउनेगरी घरदैलो गर्न उनले उम्मेदवारहरुलाई आग्रह गरे।

उनले उम्मेदवारहरुले आफू राम्रो र अरु नराम्रो भनि प्रचारप्रसार गर्न नपाइने उल्लेख गरे । उम्मेदवारहरुलाई आफ्नो घोषणापत्र अनुरुप र आफूले गर्ने कामहरुको मात्रै प्रचारप्रसार गर्न उनको सुझाव छ । अरु दल र स्वतन्त्र उम्मेदवारहरु नराम्रो भनि प्रचार गर्न नपाइने उनले उल्लेख गरे । आयुक्त भण्डारीले प्रचारप्रसारको क्रममा आचारसंहिता उल्लंघन भएमा आयोगले उम्मेदवारको मनोनयनपत्र खारेजसम्म गर्नसक्ने बताए ।

आयुक्त भण्डारीले आयोगले हालसम्म दर्जनौं उम्मेदवारहरुलाई स्पष्टिकरण सोधिसकेको जानकारी दिए। स्पष्टिकरण चित्त बुझ्दो नभएमा थप कानूनी कारबाही अगाडी बढाइने, आचारसंहिता पालना गराउने सन्दर्भमा आयोग निर्मम र निर्दयी भएर अघि बढ्ने उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस