चुनावी चहलपहल बढेसँगै होटल व्यवसाय फस्टाउन थाल्यो

सफल खबर संवाददाता

आइतबार, ३० असोज २०७९, ०८ : ४२
चुनावी चहलपहल बढेसँगै होटल व्यवसाय फस्टाउन थाल्यो

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ को चहलपहलले महोत्तरीको होटल व्यवसाय फस्टाएको  छ । जिल्लाका चार प्रतिनिधिसभा क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका बजारका होटल केही दिनयता ग्राहकले खचाखच भरिएका छन् । चुनावी चहलपहलको भीडले होटल व्यवसाय प्रवद्र्धन गएको व्यवसायीको भनाइ छ ।

जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं १ को बर्दिबासमा विभिन्न दल र स्वतन्त्र उम्मेदवारका  निर्वाचन परिचालन कार्यालय सञ्चालनमा आएसँगै होटलमा ग्राहकको सङ्ख्या ह्वात्तै बढेको छ । बर्दिबासचोकमै सत्ता गठबन्धन, नेकपा ९एमाले०– जनता समाजवादी ९जसपा० गठबन्धन र स्वतन्त्र उम्मेदवारका कार्यालय सञ्चालनमा आएलगत्तै बजारु चहलपहल ह्वात्तै बढेको नेपाल होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष रेवन्त कार्की ‘सुदीप’को भनाइ छ । 

“निर्वाचन आयोगले बर्दिबासमै निर्वाचन अधिकृतको कार्यालय स्थापना ग¥यो, सडक यातायातको सहजताले दल र उम्मेदवारले पनि यही नै कार्यालय सञ्चालनमा ल्याए”, उनले भने, “यसले चुनावी तयारीको चहलपहल बढेसँगै होटल खचाखच भरिएका छन् ।” निर्वाचन अधिकृतको कार्यालयसम्बद्ध कामको सम्पर्कमा र दल एवं अन्य उम्मेदवारका कार्यालयमा आउजाउ गर्ने बढेसँगै होटलमा ग्राहक बढेका सुदीपको भनाइ छ । साना–ठूला गरी एक सयको हाराहारीमा होटल रहेका बर्दिबासमा सबै होटल अहिले भरिभराउ देखिँदैछन् ।

उम्मेदवारले निर्वाचन चिह्न पाएसँगै प्रचार अभियान औपचारिकरूपमा सुरु भएको छ । यस क्रममा जिल्लाका प्रत्येक प्रतिनिधिसभा क्षेत्रका मुख्य बजारमा दल र स्वतन्त्र उम्मेदवारका कार्यालय सञ्चालनमा आएका छन् । बर्दिबासका अतिरिक्त जिल्लाका बलवा, जलेश्वर र रामगोपालपुरमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा छन् । यिनै ठाउँमा दल र स्वतन्त्र उम्मेदवारले पनि आ–आफ्ना कार्यालय सञ्चालनमा ल्याएपछि चुनाव विशेषको बजारु चहलपहल बढेको हो ।

यसबाहेक जिल्लाका सीतापुर, गौशाला, रौजा, लोहारपट्टि, पिपरा, मटिहानी, मनरा र सम्सीलगायतका मुख्य बजारमा पनि दल र अन्य उम्मेदवारका सम्पर्क कार्यालय सञ्चालन गरिएपछि चुनावी माहोल तात्दै गएको छ । 
 

प्रतिक्रिया दिनुहोस