सामाजिक र राजनीतिक यात्रामा डा. अधिकारी

सफल खबर संवाददाता

शुक्रबार, २८ असोज २०७९, १८ : ३५
सामाजिक र राजनीतिक यात्रामा डा. अधिकारी

चितवन । चितवनको दुर्गम गाउँ तत्कालिन कुरिनटार गाउँ विकास समिति कमेरेको एउटा विपन्न परिवारमा जन्मिएर चिकित्सक जस्तो विशिष्टिकृत सेवा क्षेत्र हुँदै राजनीतिक आन्दोलनमा प्रवेश गर्नु भएका डाक्टर डा भोजराज अधिकारी चितवनबासीका लागि नौलो नाम होइन । बिगत १७ वर्र्षदेखि चिकित्साक्षेत्र मार्फत जनताको सेवामा रहनुभएका डा अधिकारी यस पटक चितवनको निर्वाचन क्षेत्र नम्बर ३ बाट सम्युक्त गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) को गोलाकार भित्रको हसियाँ हथौडा चुनाव चिन्ह लिएर प्रतिनिधिसभा सदस्यको रुपमा राजनीतिक यात्रा तय गर्नु भएको छ ।

बुबा एकदेव अधिकारी र आमा चुनादेवी अधिकारीका कोखबाट छैटांै सन्तानका रुपमा २०३६ सालमा उहाँको जन्म भएको हो। गरिबीले आक्रान्त उहाँको परिवार जन्मथलो छोडेर चितवनको साविक पटिहानी गाउँपालिका अर्थात हालको भरतपुर महानगरपालिका २२ मा बसाई सर्यो । परिवार बसाई सर्दै गर्दा अधिकारी केवल एक वर्षको हुनुहुन्थ्यो ।

बाल्यकाल 

डा. अधिकारीको बाल्यकाल पनि पटिहानीमै वित्यो । उहाँको प्राथमिक शिक्षा पटिहानीकै राष्ट्रिय प्राथमिक विद्यालयबाट शुरु भयो । पाँच  कक्षासम्म मात्र रहेको उक्त विद्यालय पछि पटिहानीकै अमर माविबाट डा अधिकारीले २०५२ सालमा विशिष्ट श्रेणीमा एसएलसी उर्तीण गर्नु भयो । पढाईमा अब्बल अधिकारी कहिल्यै दोस्रो हुनु परेन । विद्यालयकै सबै भन्दा धेरै नम्बर ल्याउने विद्यार्थी अर्थात होल फष्ट हुनुहुन्थ्यो । कक्षा ५ र ८ को परीक्षामा उहाँले चितवन जिल्ला प्रथमनै हुनुभएको थियो ।
चञ्चले स्वभाव, तीक्ष्ण बुद्धि काम नगरी खाली बस्न नसक्ने उहाँको स्वभावका कारण एसएलसी दिएपछिको खाली समयमा पनि उहाँ खाली बस्नु भएन् । स्थानीय ब्राइट स्टार बोडिङ स्कूलमा तीन महिना पढाउनुभयो ।

उच्च शिक्षा र स्वास्थ्य सेवा

अमृत साइन्स क्याम्पस(अस्कल)बाट २०५४ सालमा  प्रथम श्रेणीमा आइएससी गर्नु भएका डा अधिकारीले शिक्षा मन्त्रालयको पूर्ण छात्रवृत्ति कोटामा पोखरास्थित मणिपाल मेडिकल कलेज, शिक्षण अस्पताल बाट चिकित्सा विज्ञानमा स्नातक (एम.बी.बी.एस.) उर्तीण गर्नुभएको हो । 

पोखराको पढाई पछि उहाँले चिकित्सा क्षेत्रको पहिलो काम चितवनको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल(पुरानो मेडिकल कलेज)बाट शुरु गर्नु भयो । २०६२ सालमा इन्टर्नसीप चिकित्सककोरुपमा अस्पतालमा काम गर्दा उहाँमा रहेको क्षमताको कारण सोही मेडिकल कलेजबाट निशुल्क काठमाण्डौं विश्वविद्यालयको इन्टरनल मेडिसिन(फिजिसियन)मा एमडी गर्नु भयो । एमडी अध्ययन गर्दागर्दे उहाले लोकसेवा मार्फत सरकारी चिकित्सकको रुपमा नाम निकालेर हालको कालिका नगरपालिकाको जुटपानी स्वास्थ्य चौकीमा सरकारी चिकित्सक बन्नुभयो । त्यो उहाँको सरकारी सेवाको  पहिलो प्रारम्भ थियो । मेडिकल कलेजको व्यस्तता र केही नयाँ सिकौ भन्ने मान्यता राख्नुहुने डा अधिकारीको सरकारी क्षेत्रबाट केही गरौं भन्ने भावना पुरा हुन नसक्ने देखेर त्यो जागीरमा त्यति रमाउन सक्नु भएन । त्यस पछि उहाँकोे विशिष्टिकृत सेवा पुरानो मेडिकल कलेजबाट शुरु भयो । 

एमडी अध्ययन गर्देगर्दा कलेज अफ मेडिकल साइसेन्स शिक्षण अस्पतालमा उहाँकै नेतृत्वमा नेपालमै नीजि क्षेत्रबाट पहिलो पल्ट मृगौलाको डायलायसिस सेवा शुरु भएको थियो । त्यो सेवा सर्वसाधारण नागरिकको पहुँचमा पु¥याउने उहाँको ध्येय थियो । काम त्यहाँ गरिरहँदा पनि कसरी त्यो सेवा सरकारी अस्पतालमा दिन सकिन्छ भन्ने उहाँमा हुटहुटी भइरहन्थ्यो ।सरकारी जागीर छोडेपनि आम नागरिकको स्वास्थ्य प्रति उहाँ सधै चिन्तित हुनुहुन्थ्यो । त्यसैले उहाँमा जागृत गरिब र निमुखा  विरामीको सेवामा समर्पण गर्ने चाहनाले  अस्पताल विकास समितिकै माध्यमबाट भरतपुर अस्पतालमा प्रवेश गर्नुभयो । २०६७ साल देखिको निरन्तरता र सोही अस्पतालको अध्यक्ष जस्तो गरिमामय नियुक्ति पछि उहाँले चितवनको स्वास्थ्य क्षेत्रमा धेरै र उल्लेख्य काम गर्ने अवसर प्राप्त गर्नुभयो । वितेको ३० महिना भरतपुर अस्पतालको अध्यक्षसमेत बन्नुभयो । यो अवसरमा उहाँले भरतपुर अस्पतालको भौतिक निर्माण, सेवाको गुणस्तरमा धेरै उल्लेख्य काम गर्नुभयो । त्यसो त अस्पतालमा जनरल फिजिसयिनको रुपमा काम गर्दाको १० वर्षमा उहाँले नेपाल सरकारका विभिन्न निकायसंग समन्वय गरी स्वास्थ्य क्षेत्रका थुपै्र काममा अग्रसरता लिनुभएको थियो  । भरतपुरलाई मेडिकल सिटीका रुपमा बिकास गर्नुपर्छ भन्ने मान्यता राख्नुहुने डा अधिकारी राजनीति तर्फ पाइला अगाडि सार्दा पनि उक्त अभियान संगै भरतपुर अस्पताललाई गरिब र जेहन्दार विद्यार्थीको रोजाई स्थलको रुपमा सरकारी मेडिकल कलेज बनाउन तल्लीन हुनुहुन्छ । 

सामाजिक सेवा

२०७३ सालदेखि नेपाल सरकारको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को उपाध्यक्ष समेतको भूमिका निर्वाह गरिसक्नु भएका डा अधिकारी सरकारको  स्वास्थ्यसंग सम्वन्धित नीति तर्जुमा निमार्णमा सामेल हुनुभयो । डा अधिकारीलाई २०७६ चैत १८ गते नेपाल सरकारले भरतपुर अस्पताल विकास समितिको अध्यक्ष नियुक्त गरेको थियो । यो पद उहाँले निर्वाचनमा होमिदैगर्दा राजीनामा दिनु भएको हो । 

उहाँ अध्यक्ष हुदा भरतपुर अस्पतालमा भौतिक निमार्ण, विशिष्टिकृत सेवा र विस्तारका थुप्रै काम भएका छन् । अस्पतालको आकस्मिक भवन निमार्ण र संचालन, अन्य बन्दै गरेका व्लकहरुको पूर्णता र संचालन, कर्मचारीको दरबन्दी वृृद्धि र व्यवस्थापन, बिमा, विपन्न सेवालगायतका कामको प्रभावकारिता भएका छन् । आइसियू बेडको वृृद्धि आदि लगायतका उल्लेखनीय कामहरु भएका छन् भने अहिले पनि भौतिक पूर्वाधारका कामहरु जारी छन् । 

अस्पतालको अध्यक्ष भए पनि डा अधिकारीले विरामी हेर्ने काम कहिल्यै छोड्नु भएन । भरतपुरमै रहेको पुष्पान्जली अस्पतालमा उहाँ अझै पनि दैनिक दर्जनौ बिरामीलाई सहज सेवा दिइरहनुभएको छ ।

डा अधिकारीमा आफ्नो चिकित्सकिय सेवा संगै देशविदेशका धेरै अनुभव छन् । उहाँले ३९ देश भ्रमण गरि त्यहाँको स्वास्थ्य क्षेत्रको बारेमा केही बुझ्ने र सोही अनुसार नेपालमा प्रयोग गर्ने दृढ इच्छा राख्नुहुन्छ । कोरोना महामारी र यसबाट बचाउने विषयमा पनि उहाँको उल्लेख्य योगदान रह्यो । नेपालमै पहिलो पल्ट उहाँकै अगुवाईमा चितवनमा कोभिड भ्याक्सिनको अनुसन्धान भइरहेको छ । 

हकी स्वभावका डा अधिकारी विद्यार्थी कालदेखि नै क्रान्तिकारी विचारको हुनुहुन्थ्यो । २०५२ सालमा नेकपा (मशाल)को सदस्यता लिनुभएका डा अधिकारी हाल नेकपा (माओवादी केन्द्र) निकट स्वास्थ्य तथा जनसंख्या विभागको केन्द्रिय सचिव हुनुहुन्छ । 

जहाँ काम त्यहाँ सधै अव्वल नै नतिजा दिनुपर्छ भन्ने मान्यता राख्नुहुने डा अधिकारी आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट पाँच दलीय गठबन्धनको साझा उमेद्वारका रुपमा चितवन क्षेत्र नं ३ मा मैदानमा हुनुहुन्छ ।
सम्युक्त परिवारमा रहनुहुने डा अधिकारीका बुबा, आमा, श्रीमती, एक छोरी र एक छोरा हुनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस