युभेन्टस स्तब्ध, पीएसजी पनि रोकियो

एजेन्सी

बुधबार, २६ असोज २०७९, ०९ : ३५
युभेन्टस स्तब्ध, पीएसजी पनि रोकियो

एजेन्सी । माकाबी हाइफासँग स्तब्ध बनेपछि इटालियन महारथी युभेन्टस च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना कठिन बनेको छ । मंगलबार राति भएको खेलमा युभेन्टस ०–२ गोलले पराजित बनेको हो ।

ओमेर अटजिलीले पहिलो हाफमा गरेको दुई गोलको मद्दतले इजरायली टोलीले युभेन्टसलाई हराउन सफल बनेको हो । दुई खेल बाँकी छँदा युभेन्टस मात्र ३ अंक बटुल्दै समूहको तेस्रो स्थानमा सीमित बनेको छ । 

मासिमिलानो एलेग्रीको टोलीले अब अन्तिम १६ मा पुग्नका लागि बाँकी दुई खेलमा पीएसजी र बेनफिकालाई हराउनै पर्ने हुन्छ । दुई पटकको युरोपियन च्याम्पियन घरेलु लिगमा पनि सङ्घर्षरत रहेको छ । शनिबार एसी मिलानसँग पराजित हुँदै टोली सिरिए एमा आठौँ स्थानमा सीमित रहेको छ । 

समूहकै अन्य खेलमा पीएसजी र बेनफिकाले १–१ को बराबरी खेले । दुई टोलीको समान ८ अङ्क रहेको छ । एम्बाप्पेले खेलको ३९ औँ मिनेटमा पेनाल्टीमार्फत टोलीलाई अग्रता दिलाए पनि दोस्रो हाफमा जोआ मारियोले पेनाल्टीबाट गोल फर्काउँदै खेल बराबरी गरे । 

एम्बाप्पेले त्यसपछि गोल गरे पनि त्यसलाई अफसाइड करार गर्दै रद्द गरिएको थियो । लियोनेल मेस्सीले घाइते हुँदै मंगलबारको खेल गुमाउन पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस