पाँचथर । पाँचथरमा मतदाता घटेका छन् । गत स्थानीय तहको निर्वाचनभन्दा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने मतदाताको सङ्ख्यामा कमी आएको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लामा एक लाख ४० हजार २२४ मतदाता थिए । तर, आगामी निर्वाचनका लागि जिल्लामा कुल एक लाख ३८ हजार ९३२ मतदाता कायम भएको जिल्ला निर्वाचन अधिकारी कुमारप्रसाद भट्टराईले जानकारी दिए । स्थानीय तहको निर्वाचनभन्दा एक हजार २९२ मतदाता घटेको उनको भनाइ छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदाता अद्यावधिक गर्ने क्रममा मतदाताको सङ्ख्या घटेको पाइएको हो । मृत्यु भएका मतदाताको नाम हटाउने, दोहोरो परेका नाम हटाउने, बसाइँ सरी जाँदा मतदाता नामावली सार्नेजस्ता कारणले मतदाताको सङ्ख्या घटेको कार्यालय प्रमुख भट्टराईको भनाइ छ । यहाँबाट तराईतर्फ बसाइँसराइको क्रम अत्यधिक रहेकाले मतदाता र जनसङ्ख्या घट्ने गरेको छ ।
यस्तै मतदाता सङ्ख्या जनसङ्ख्याको लैङ्गिक अनुपातसँग मिल्दोजुल्दो हुनुपर्ने भए पनि जिल्लामा भने फरक रहेको पाइएको छ । कार्यालय प्रमुख भट्टराईका अनुसार पाँचथरमा अहिले कायम भएका मतदातामध्ये पुरुष ७३ हजार ३६६ र महिला ६५ हजार ५६६ रहेका छन् । पाँचथरको विसं २०७८ को जनसङ्ख्याअनुसार पुरुषभन्दा महिलाको सङ्ख्या तीन सयभन्दा बढी छ । सो जनगणनाको तथ्याङ्कानुसार जिल्लाको कुल जनसङ्ख्या एक लाख ७४ हजार ४१९ छ । जसमध्ये पुरुष ८७ हजार ३३ र महिला ८७ हजार ३८६ छन् ।
जनसङ्ख्यामा महिलाको सङ्ख्या बढी रहे पनि मतदातामा महिलाको सङ्ख्या कम देखिएको हो । अहिले कामय भएको मतदाता सङ्ख्यामा पुरुषभन्दा महिलाको सङ्ख्या सात हजार आठ सय कम छ । “महिला मतदाताको सङ्ख्या कम हुनुमा राज्यको पहुँच नपुग्नु, यहाँको मानिस भए पनि अन्यत्रै बसोबास गर्नु, मतदान वा निर्वाचन प्रक्रियाबारे अनविज्ञ वा अनिच्छुक हुनुजस्ता कारण हुन सक्छन्”, भट्टराईले भने । घरदैलो अभियानमार्फत मतदाता पहिचान आवश्यक देखिएको उनले बताए ।
यस्तै आगामी निर्वाचनका लागि पाँचथरमा एक मतदान केन्द्र र मतदानस्थल थप भएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका–७ लिम्बामा रहेको सार्वजनिक माध्यमिक विद्यालय मतदान केन्द्रलाई फुटाइ सोही वडाको सरस्वती आधारभूत विद्यालय कम्फ्युटारमा मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन अधिकारी भट्टराईले जानकारी दिए । अब पाँचथरमा १०२ मतदान केन्द्र र १७७ मतदानस्थल कायम भएका छन् । आठवटा स्थानीय तह रहेको पाँचथरमा प्रतिनिधिसभा सदस्यको एकमात्रै निर्वाचन क्षेत्र रहेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २५ असोज २०७९, ०८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपुरमा थपिए नौ हजार मतदाता
डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिए
कास्कीमा थपिए १७ हजार ७८६ मतदाता
कोशीमा मतदाता नामावलीका लागि एक लाख ५७ हजारको निवेदन
प्रतिनिधिसभा निर्वाचन : तनहुँमा आठ हजार ३६६ मतदाता थपिए
आठ लाख ३७ हजार नयाँ मतदाता थपिए