‘अभिनयमा रमाउँदै छु’ : अभिनेत्री अदिति बुढाथोकी

रासस

सोमबार, १७ असोज २०७९, १९ : ००
‘अभिनयमा रमाउँदै छु’ : अभिनेत्री अदिति बुढाथोकी

काठमाडौं । मोडलिङ क्षेत्रमा परिचित नाम अदिति बुढाथोकी अभिनयमा सक्रियता बढाउँदै हुनहुन्छ । ‘कृ’ मार्फत अभिनयमा डेब्यु गर्नुभएकी अदिति अभिनित दोस्रो फिल्म ‘बाबरी’ प्रदर्शनरत छ ।

भारतीय म्युजिक भिडियोमा अभिनय गरिसक्नुभएकी अदितिले धेरै नेपाली फिल्मको अफर स्वीकार गर्नुभएन । “म हतारमा फिल्म गर्ने सोचमा थिइनँ । कोरोना महामारीका कारण पनि ‘प्रोजेक्ट’ ढिला भएको हो । सुहाउँदो भूमिका आएमा काम गर्नेछु”, उहाँले भन्नुभयो । 

उहाँ नेपालबाटै मोडलिङको सुरुआत गरेर उहाँ भारतस्थित मुम्बईमा काम गरिरहनुभएको छ । नेपालमा एक विज्ञापनमा काम गरेपछि अदितिलाई मुम्बईबाट ‘मायालु नुडल्स’ मा मोडलिङ गर्ने प्रस्ताव आएको थियो ।

त्यसयता उहाँ मुम्बईमै मोडलिङ गरिरहनुभएको छ । “मैले मुम्बई वा नेपाल भनेर काम गरिरहेकी छैन । जहाँ मलाई प्रस्ताव गरिन्छ, बुझेर काम गर्ने गरेकी छु”, उहाँले भन्नुभयो । 

यहाँको ‘वर्किङ कल्चर’ले उहाँलाई समस्या पार्ने रहेछ । उहाँ भन्नुहुन्छ, “हामीकहाँ अझै व्यावसायिकता कम छ । काम पूरा नगर्न बहाना बनाउन पाइन्छ । त्यसले ‘सेड्युल’ लाई असर गर्छ”, अभिनेत्री बुढाथोकीले भन्नुभयो ।

काममा पूर्णरूपमा समर्पित भएर नलागेसम्म त्यसले गतिलो नतिजा नदिने उहाँको बुझाइ छ । उहाँले डेब्यु फिल्ममा छायाङ्कनका लागि पटकपटक नेपाल आउँदा काम नभएपछि फर्किनुपरेको थियो । 

यही कारण पनि दोस्रो फिल्म उहाँले होम प्रोडक्सनकै गर्नुभयो । “म बाहिरी प्रोडक्सनमा पनि काम गर्न तयार छु । दुई फिल्मले मलाई वर्किङ कल्चर बुझाइरहेको छ”, अभिनेत्री बुढाथोकीले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस