राजसंस्था पुनःस्थापना गर्ने एजेण्डालाई लिएर मतदातासँग भोट माग्छु : रविन्द्र मिश्र

सफल खबर संवाददाता

शुक्रबार, १४ असोज २०७९, १९ : ५०
राजसंस्था पुनःस्थापना गर्ने एजेण्डालाई लिएर मतदातासँग भोट माग्छु : रविन्द्र मिश्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले आगामी निर्वाचनमा आफूले राजसंस्था पुनःस्थापना गर्ने एजेण्डालाई लिएर मतदातासँग भोट माग्ने बताएका छन् । शुक्रबार काठमाडौं क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार औंपचारिक रुपमा घोषणा गर्दै वरिष्ठ उपाध्यक्ष मिश्रले आगामी निर्वाचनमा जाने आफ्नो मूल एजेण्डाबारे प्रष्ट्याएका हुन् ।

राजसंस्थावादी, गणतन्त्रवादी र धर्मनिरपेक्षतावादी नभएको उल्लेख गर्दै उनले संविधानले बाँधेर राखेको राजसंस्था पुनःस्थापित हुनुपर्छ भन्ने मान्यतामा आफू रहेको बताए । यसरी जाँदा भोट नपाए पनि आफूले खुशीसाथ मतदातालाई धन्यवाद दिने उनको भनाइ थियो ।

वरिष्ठ उपाध्यक्ष मिश्रले भने, ‘म गणतन्त्रवादी होइन, राजसंस्थावादी पनि होइन । म धर्मनिरपेक्षतावादी पनि होइन । म नेपालवादी हुँ । म नेपालवादी भएकै कारणले नेपालको हित गर्नका लागि यो देशमा कुनै न कुनै रुपमा संविधानले बाँधेर राजसंस्था पुनस्थापित गर्नुपर्छ भन्ने मान्यता राख्छु । यही कुरा लिएर म मतदाता कहाँ जान्छु, भोट पाए पाउँछु । पाईन भनेदेखि खुशी साथ म धन्यवाद व्यक्त गर्छु । यसमा म प्रष्ट छु ।’

वरिष्ठ उपाध्यक्ष मिश्रले १५ वर्षसम्म जनताको पक्षमा काम नगरेका प्रकाशमान सिंहलाई काठमाडौं क्षेत्र नम्बर १ का जनताले पुनः विजयी गराउन नमिल्ने बताए । उनले आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ का जनताले आफ्नो एजेण्डालाई हेरेर विजयी गराउने विश्वास समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस