दसैँ बिदामा आयल निगमका डिपो खुला हुने

रासस

शुक्रबार, १४ असोज २०७९, १४ : ५४
दसैँ बिदामा आयल निगमका डिपो खुला हुने

काठमाडौं । नेपाल आयल निगमले दसैँ बिदाका समयमा आफ्ना सबै डिपोहरु खुला रहने जनाएको छ । निगमले एक सूचना प्रकाशित गरी दसैँका समयमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि दसैंको बिदामा १३  डिपोहरु खुला राख्ने जनाएको छ ।

दसैँमा सार्वजनिक बिदा हुने र सार्वजनिक यातायातको चाप बढ्ने भएकाले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि डिपोहरु खुला राख्ने निगमले निर्णय गरेको निगमका निर्देशक वीरेन्द्र गोइतले जानकारी दिए । उनका अनुसार प्रदेश १ को विराटनगर र मधेस प्रदेशको अमलेखगञ्जमा असोज १६, २९ र २१ गते डिपो खुला हुने छ भने वाग्मती प्रदेशको थानकोट र गण्डकीको पोखरामा असोज १५, १६, १८ र २१ गते खुला रहनेछन् । 

यसैगरी लुम्बिनी प्रदेशको भैरहवामा असोज १५, १६, १७, २१ र २२ गते र कर्णाली प्रदेशको सुर्खेतमा असोज १६ र २१ गते डिपोहरू खुला हुनेछन् । उता सुदूरपश्चिम प्रदेशको धनगढीमा असोज १६, १७ र २१ गते तथा शाखा कार्यालय चारआलीमा १६ र २१ गते डिपोहरू बिदाको दिनमा खुला रहनेछन् । यसैगरी नेपालगञ्ज, धनुषा, वीरगञ्ज, दाङ र दिपायलमा रहेको निगमका डिपोहरू पनि २१ गतेसम्म खुला हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस