किन बलियो हुँदैछ डलर ?

सफल खबर संवाददाता

शुक्रबार, १४ असोज २०७९, १३ : ३६
किन बलियो हुँदैछ डलर ?

एजेन्सी । अमेरिकी डलर अन्य मुद्राको तुलनामा पछिल्लो दशकमा सबैभन्दा बलियो स्थितिमा छ । यसको मतलब यो हो कि डलर किन्न धेरै महँगो भएको छ र एक डलरले अब पहिलाभन्दा धेरै पाउन्ड, युरो वा येन किन्न सकिन्छ । यसले विश्वभरका व्यवसाय र घरहरूलाई असर गरिरहेको छ ।

डलर इन्डेक्स अर्थात् डिएक्सवाईले अमेरिकी डलरलाई​ विश्वभरीका ६ मुद्रासँग तुलना गर्छ । यसमा युरो, पाउन्ड र येन समावेश छ ।​ डिएक्सवाई २०२२ मा १५ प्रतिशत बढेको छ । यी तथ्याङ्कले डलरको भाउ विगत २० वर्षयताकै उच्च रहेको देखाउँछ ।

यति बलियो किन छ डलर ?

बढ्दो मूल्यलाई नियन्त्रण गर्न अमेरिकाको केन्द्रीय बैंकले यस वर्ष धेरै पटक ब्याजदर बढाएको छ । यसले डलर प्रयोग गर्ने वित्तीय उत्पादनहरूबाट आम्दानी बढेको छ । यसको एउटा उदाहरण अमेरिकी सरकारी ऋणपत्र हो ।

ऋणपत्र भनेको सरकार र कम्पनीहरूका लागि भविष्यमा ब्याजसहित पैसा फिर्ता गर्ने वाचा गर्दै ऋण लिने माध्यम हो । सरकारी ऋणपत्र सामान्यतया सुरक्षित मानिन्छ । हालका दिनहरूमा, लगानीकर्ताहरूले अमेरिकी ऋणपत्र किन्न लाखौँ डलर खर्च गरिरहेका छन् । उनीहरूले यी बन्डहरू किन्न डलर खर्च गर्नुपरिरहेको छ र बढ्दो मागका कारण डलरको मूल्य बढेको छ ।

जब लगानीकर्ताले डलर किन्न अन्य मुद्राहरू प्रयोग गर्छन्, ती मुद्राको मूल्यमा गिरावट आउँछ । विश्व अर्थतन्त्र संकटमा परेका बेला पनि लगानीकर्ताहरु डलर किन्न चाहन्छन् । अमेरिकी अर्थव्यवस्था निकै ठूलो छ र यसलाई सुरक्षित स्थान मानिन्छ । यसैकारण पनि मूल्य बढ्छ ।

तेलको मूल्य वृद्धिका कारण युरोप र एसियाका धेरै अर्थतन्त्र समस्यामा परेका छन् । अमेरिकामा पछिल्लो ६ महिनामा मूल्यवृद्धिको प्रभाव त्यति देखिएको छैन ।

पछिल्लो तीन महिनामा अमेरिकाको अर्थतन्त्र पनि संकुचित भएको छ तर कम्पनीहरूमा कामदार हायरिङ भइरहेको छ, यसलाई बढ्दो विश्वासका रूपमा हेरिएको छ । बीबीसी 

प्रतिक्रिया दिनुहोस