महानगरले खाली गरायो भूमिगत पार्किङ

सफल खबर संवाददाता

बुधबार, १२ असोज २०७९, २१ : ००
महानगरले खाली गरायो भूमिगत पार्किङ

पोखरा । पोखरा महानगरपालिकाले सृजनाचोक स्थित आफ्नो स्वामित्वमा रहेको भवनको भूमिगत पार्किङ खुला गरेको छ। महानगरमा निर्माण गरिएका भूमिगत पार्किङ सहितका कतिपय भवनहरूले प्रयोजन विपरीत प्रयोग गरिरहेका बेला महानगरले भने आफ्नो भवनमा पार्किङ खुला गरेको हो । 

यसअघि भदौ १३ गते महानगरले पोखरामा रहेका भूमिगत पार्किङ स्थलहरूलाई पार्किङ प्रयोजन मै प्रयोग गर्न ३५ दिने सूचना जारी गरेको थियो ।  सूचनाको म्याद अझ केही दिन बाकी छ । तर, महानगरले सो अगावै आफ्नो भूमिगत पार्किङ खाली गरी यस कार्यको शुभारम्भ गरेको प्रमुख धनराज आचार्यले बताए । 

‘यो एउटा शुभारम्भ हो, र पोखरामा जति पनि भूमिगत पार्किङ सहित निर्माण गरिएका घरहरू छन्, घर धनीहरूले यसलाई खाली गरेर पार्किङ कै लागी प्रयोग गर्नका लागि म अनुरोध गर्न चाहन्छु’ प्रमुख आचार्यले भने । पोखरामा रहेका भूमिगत पार्किङहरूमा पार्किङ साङ्केतिक रूपमा सुरु भयो भन्ने सन्देश महानगरले दिएको प्रमुख आचार्यले बताए । 

बेसमेन्ट पार्किङ सहितको भवन निर्माणका लागि अनुमति लिई निर्माण गरिएका हरेक भवनहरूमा यसको कार्यान्वयन अनिवार्य हुने प्रमुख आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस