दसैँ सुरु हुँदा पनि मर्मत भइसकेनन् सडक

रासस

बुधबार, १२ असोज २०७९, १४ : २२
दसैँ सुरु हुँदा पनि मर्मत भइसकेनन् सडक

काठमाडौं । दसैंका लागि दैनिक ठूलो सङ्ख्यामा नागरिक सडक यातायातमार्फत आवतजावत गरिरहँदा देशभरका धेरै सडक मर्मत हुन सकेको छैन । वर्षामा बाढी र पहिराले अवरुद्ध सडक पूर्णरुपमा खुलिसकेका छैनन् । वर्षाले खाल्डाखुल्डी भएका ठाउँमा टाल्ने काम अझै बाँकी छ ।

बर्सेनि सडकमा बढी खाल्डाखुल्डी भदौ र असोजमा देखिन्छ । असोजको दोस्रो सातासम्मको वर्षा तथा चाँडो दसैँ परेकाले सडकको अवस्था अपेक्षा अनुसार मर्मत भइनसकेको सडक विभागका प्रवक्ता भीमार्जुन अधिकारीले बताए ।

दसैँ अगावै सबैतिरको सडकमा खाल्डा टालिसक्ने योजना भए पनि त्यसअनुसार काम हुन नसकिरहेको उनले बताए । विभागले अनुकूल स्थानमा सडक मर्मत गरिरहेको छ । उनले भने, “पानी नपरेको र काम गर्न सकिने ठाउँमा खाल्डारहित बनाइएको छ ।” 

दसैंका लागि लक्षित गरेर भदौ अन्तिम साताबाट मर्मत सुरु गरिएको विभागले जनाएको छ । मिलेको र सुकेको ठाउँमा खाल्डा टाल्ने काम भइरहेको छ । हाल महेन्द्र राजमार्ग, मुग्लिन–पोखरालगायतका सडकमा निर्माण भइरहेको छ । जहाँ नियमित पानी परिरहेको छ त्यहाँ काम गर्न नसकेकाले त्यहाँ खाल्डा देखिएको छ । सडकमा बढी समस्या नारायणगढ–बुटवल खण्डमा देखिएको छ । निरन्तर वर्षा र सवारीसाधन बढी भएकाले काम गर्न सजिलो छैन । पहिरो गएका ठाउँमा समेत काम गर्न सकिएको छैन । पानी रोकिएपछि सतह मिलाउने, कालोपत्रको काम गर्न सकिनेछ । उनले भने, “वर्षाका कारण काम गर्न नसकेर सडक अप्ठेरो भएको छ ।” 

अहिले साँफेबगर–मार्तडी, बेनी–जोमसोम, बेसीसहर–चामे, मुग्लिन–नारायणगढमा समस्या देखिएको छ । पहाडका सडकमा वर्षामा बिग्रिएकामा अझै काम गर्न नपाइएको जनाइएको छ । दसैंको समयमा डिभिजन सडक कार्यालयले नियमित  मर्मतको काम गर्ने भएका छन् । एक दुई दिनबाहेक काम हुनेछ । कामदारमध्ये धेरै स्थानीयवासी भएकाले सम्बन्धित डिभिजनले उनीहरुलाई काम लगाउनेछन् । 

सङ्घीय सरकारको जिम्मेवारीमा अहिले ८० राजमार्गको झन्डै एक हजार पाँच सय किमी सडक रहेको छ । जम्मा सडकमध्ये १० हजारमा किमीमा नै नियमित मर्मत आवश्यक हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देलले बताए । सम्बन्धित विभागले नियमित रुपमा आफैँले वा ठेक्कामार्फत मर्मत गराउँछ ।

सडक नियमित मर्मतका लागि पहेँलो ज्याकेट लगाएर काम गर्ने दुई हजार छ सय कर्मचारी विभागसँग करारमा छन् । नियमित मर्मत गर्न पहाडमा तीन र तराईमा पाँच किमी हेर्ने गरी कर्मचारीको व्यवस्था गरिएको छ । उनीहरुले स सानो पहिरो टाल्ने, खाल्डो पुर्ने लगायतका काम गर्छन् । डिभिजनले आफ्नो उपकरण र जनशक्ति प्रयोग गरेर खाल्डा पर्नासाथ टाल्छन् । सामान्यतया सडक एकपटक निर्माण गरेपछि प्रत्येक पाँच पाँच वर्षमा माथिबाट कालोपत्र थप्ने काम (ओभर ले) गर्नुपर्छ ।

वर्षाले कतिपय सडक पूर्ण र कतिपय आंशिकरुपमा अवरुद्ध छन् । त्यसमा कतिपय एकातर्फबाट र कतिपय पूर्ण सञ्चालनमा आइसकेको छ । गएको वर्षामा मात्रै होइन कात्तिकसम्म वर्षा हुँदा धेरै सडकमा क्षति पुगेको थियो । यस वर्ष देशभरका सडकका चाप बढिरहेका सडक खण्ड पटक पटक अवरुद्ध भएका छन् । अवरुद्ध सडक तत्काल खुलाउनका लागि जनशक्ति र उपकरण तयारी अवस्थामा राखिएको विभागले जनाएको छ ।