छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, १२ असोज २०७९, १३ : ०८
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । सल्यानको कपुरकोट गाउँपालिका–३ मूलपानीस्थित सडकमा रा.१ ज ५६३ नम्बरको जिप बुधबार विहान दुर्घटना हुँदा जिपमा सवार ८ जनाको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ३५ वर्षीय तिलक ओलीको प्रादेशिक अस्पताल दाङमा उपचार भइरहेको छ । बाँकेको नेपालगन्जबाट सल्यानको रिमतर्फ जाँदै गरेको उक्त जिप दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सल्यान, इलाका प्रहरी कार्यालय लुहाम र प्रहरी चौकी कपुरकोटबाट खटिएको प्रहरीले मृतक तथा घाइतेको उद्धार गरेको थियो । 

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१५ भन्सार गेट अगाडि सडकमा यूपी ४० एसी ०८५७ नम्बरको मोटरसाइकल मंगलबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक भारत बहराइच उत्तर प्रदेश बस्ने ३२ वर्षीय सन्दिप कुमार साहु रहेका छन् दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार नेपालगन्ज उपमहानगरपालिका–१५ रुपडिया बस्ने २२ वर्षीय पृथ्वी राजपुतको सोही अस्पतालमा उपचार भइरहेको छ ।खोटाङको खोटाङ रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माडाँडास्थित सडकमा प्रदेश नम्बर १–०२–००३ त १४९२ नम्बरको ट्रयाक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । 

ट्रयाक्टरमा सवार सोही नगरपालिका–११ बस्ने ५६ वर्षीय टेक बहादुर राईको मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।