विश्व चर्चित स्की पर्वतारोही नेल्सनको शव भेटियो

सफल खबर संवाददाता

बुधबार, १२ असोज २०७९, १२ : ००
विश्व चर्चित स्की पर्वतारोही नेल्सनको शव भेटियो

काठमाडौं । मनास्लु हिमालमा बेपत्ता भएकी विश्वविख्यात अमेरिकी स्की पर्वतारोही हिलारी नेल्सनको शव भेटिएको छ । सोमबारदेखि उनी मनास्लुमा स्की गर्ने क्रममा  बेपत्ता भएकी थिइन् । 

नेल्सनको शव भेटिएको र सामागाउँ ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।  उनीसँगै स्की गर्न गएका जिम मोरिसन भने सकुशल आधार शिविरमा फर्कन सफल भएका थिए । हिलारी मनाङतर्फ पर्ने भीमथाङमा हराएकी थिइन् ।

नर्थफेसकी एथलेट हिलारीले सन् २०१८ मा मोरिसनसँगै स्की गर्दै ल्होप्से हिमालको चुचुरोबाट अवरोहण गरेकी थिइन् । ८ हजार मिटरमाथिको दुईवटा हिमालको चुचुरोबाट स्की गर्दै अवरोहण गरेको कीर्तिमान पनि उनको नाममा रहेको छ ।

अमेरिकाको सियाटलमा जन्मिएकी हिलारीलाई सन् २०१८ मा नेसनल जोग्रोफिकले साहसी खेलाडीको सूचीमा राखेको थियो । 

प्रतिक्रिया दिनुहोस