विराटनगरमा पर्यटन सूचना केन्द्र स्थापना

सफल खबर संवाददाता

मंगलबार, ११ असोज २०७९, २२ : ०६
विराटनगरमा पर्यटन सूचना केन्द्र स्थापना

मोरङ । पर्यटन प्रवर्द्धन र प्रदेश–१ घुम्न आउने पर्यटकलाई जानकारी दिने उद्देश्यसहित विराटनगरमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ।नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष एवं मुख्यमन्त्रीका आर्थिक सल्लाहकार राजेन्द्र राउतले मंगलबार केन्द्रको उद्घाटन गरे। महासंघको सचिवालयमा स्थापना गरिएको केन्द्रको उद्घाटन गर्दै उपाध्यक्ष राउतले प्रदेश १ का विभिन्न आकर्षक स्थान घुम्न आउने पयर्टकलाई सहयोग पुग्ने हेतुसहित केन्द्रको स्थापना गरिएको जानकारी दिए।

प्रदेशका मुख्य तीन नाका विराटनगर, काँकडभिट्टा र पशुपतिनगरबाट घुम्न आउने पर्यटकलाई गन्तव्यको बारेमा पूर्ण जानकारी, होटल व्यवस्थापन, पर्यटकको जानकारी राख्ने गरी केन्द्रले काम गर्ने उनले बताए।

इलामको पशुपतिनगर, झापाको विर्तामोडमा सूचना केन्द्रले काम गर्दै आएको बताएका राउतले विराटनगरको रानीमा पर्यटन डेस्कको अभाव रहेको उल्लेख गरे। उनले डेस्क स्थापना नहुञ्जेल पयर्टन प्रवर्द्धन गर्ने कार्य केन्द्रले गर्दै जाने उपाध्यक्ष राउतले जानकारी दिए।

प्रदेश १ मा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको बताएका राउतले हाल रहेका १६ वटा आन्तरिक विमानस्थल संचालन गर्न संघीय सरकारले पहल गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस