हुम्लाका ५ सय ९८ जना उम्मेदवार कारबाहीमा

सफल खबर संवाददाता

मंगलबार, ११ असोज २०७९, २१ : ०६
हुम्लाका ५ सय ९८ जना उम्मेदवार कारबाहीमा

हुम्ला । हुम्लाका ५ सय ९८ जना जनप्रतिनिधि कारबाहीमा परेका छन् । स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाउने निर्वाचित अध्यक्ष, उपाध्यक्षसहित पाँच सय ९८ जना जनप्रतिनिधि कारबाहीमा परेका हुन् ।

निर्वाचन आयोगको कारबाहीमा पर्नेहरुमा अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंह, सर्केगार्ड गाउँपालिकाका अध्यक्ष ठानबहादुुर रोकाया, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी र नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामा रहेका छन्।

त्यसैगरी निर्वाचन खर्च विवरण नबुझाउनेमा चारजना गाउँपालिकाका निर्वाचित उपाध्यक्षसमेत रहेका छन्। अदानचुली गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकाय, सर्केगार्ड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्की, खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष ज्ञानबहादुर सिंह र सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशिला भाम रोकाया रहेका छन् ।

खर्च विवरण नबुझाउने अध्यक्ष उपाध्यक्षबाहेक अन्य पाँच सय ९० जनालाई पनि नियमानुसार आयोगले जरिवाना गरेको छ । आयोगले गरेको जरिवाना कारबाहीअनुसार अध्यक्ष उपाध्यक्ष पदमा उम्मेदवारी मनोनयन गरेका उम्मेदवारलाई तीन लाख ५० हजार र अन्य वडाध्यक्ष, महिला, दलित महिला सदस्य र अन्य सदस्यका लागि एक लाख ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस