आज विश्व पर्यटन दिवस मनाइँदै

सफल खबर संवाददाता

मंगलबार, ११ असोज २०७९, १० : ४६
आज विश्व पर्यटन दिवस मनाइँदै

काठमाडौँ । आज सेप्टेम्बर २७ अर्थात् ४३ औँ विश्व पर्यटन दिवस। नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी यस दिवस मनाइँदैछ। कोभिड(१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटन प्रवद्धनका विभिन्न कार्यक्रमसहित दिवस मनाउन लागिएको हो।

‘रिथिङ्किङ टुरिज्म’ भन्ने नाराका साथ कोभिडपछिको पर्यटन पुनरुत्थानलाई प्रभावकारी बनाउने उद्देश्यले नेपालमा दिवस मनाउन लागिएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताए। दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकारवाला संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाएका हुन्। दिवस भव्यरूपमा मनाउन पर्यटनमन्त्रीको अध्यक्षतामा ४३ औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ।

काठमाडौँ, पोखरा, लुम्बिनीलगायतका पर्यटकीय गन्तव्यमा विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइएको निर्देशक लामिछानेले जानकारी दिए।दिवसको अवसरमा बिहान राजधानी काठमाडौँको पर्यटकीय क्षेत्र ठमेलमा प्रभातफेरी आयोजना गरिएको छ। ठमेल पर्यटन विकास परिषद्को अगुवाइमा विभिन्न पर्यटन क्षेत्रका संस्था प्रभातफेरीमा सहभागी छन्।

यस्तै, बिहान ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल ९टान० को अगुवाइमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानमा आउने विदेशी पर्यटकलाई स्वागत गरिएको थियो।नेपाल पर्यटन बोर्ड र काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकोको सहकार्यमा कागेश्वरीधाम वडा नं १ स्थित गागलफेदीमा वृक्षरोपण एवं सरसफाइ कार्यक्रम आयोजना गरिएको छ। त्यहाँ पर्यटन मन्त्रालय, मातहत निकाय तथा बोर्डका उच्च अधिकारी, पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको बोर्डले जनाएको छ।

दिउँसो बोर्डको सभाहलमा औपचारिक समारोह आयोजना हुने र त्यहाँ सबैभन्दा बढी पर्यटक भित्र्याउने कम्पनीलाई सम्मान गरिने कार्यक्रम छ। ‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवद्र्धन’ नारासहित हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइन्छ। दिवसकै अवसरमा नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा०ले रक्तादान, फुटसल र बुङ्मतिमा सम्पदा यात्रा कार्यक्रम गरिएको छ।

कोभिडपछिको पर्यटन पुनरुत्थान कार्यक्रमलाई प्रभावकारी बनाउन सरकार र व्यवसायीबीचको साझेदारितालाई फराकिलो बनाएर पर्यटन विकास गर्न दिवसले प्रोत्साहन गर्ने नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले बताए।उनले पर्यटन क्षेत्रलाई चलायमान बनाउन प्रकृति, साहसिक र सांस्कृतिको आधारमा नेपालको पर्यटनलाई विश्वबजारमा प्रवर्द्धन गर्न जरुरी रहेको उल्लेख गरे।

टानका अध्यक्ष निलहरि बाँस्तोलाले पर्यटन क्षेत्रको चाँडो पुनरुत्थान गर्न योजनाबद्ध कार्यक्रम ल्याइनुपर्ने भन्दै पर्यटन चलायमान भएको सन्देश दिन दिवस सान्दर्भिक हुने धारणा राखे।कोभिड महामारीले पछिल्ला दुई वर्षमा उल्लेख्य सङ्ख्यामा पर्यटक आउन सकेनन् । पर्यटन बोर्डको तथ्याङ्कानुसार सन् २०२१ मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटक नेपाल आएका छन्। कोभिडपूर्व अर्थात् सन् २०१८ र सन् २०१९ मा समान १२ लाख हाराहारी विदेशी पर्यटक नेपाल भित्रिएका थिए।

पछिल्लो सन् २०२२ को आठ महिनामा तीन लाख बढी विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । कोभिडपछि अहिले पर्यटन क्षेत्र पुनरुत्थानको लयमा रहेको छ । पर्यटकीय गतिविधि बढेका छन् । विदेशी पर्यटक आगमन पनि सुधारोन्मुख छ।

प्रतिक्रिया दिनुहोस