सत्ता गठबन्धनको बैठक बस्दै, नागरिकता विधेयक र राष्ट्रपतिको कदमबारे पनि छलफल हुने

सफल खबर संवाददाता

बुधबार, ०५ असोज २०७९, ०९ : ०४
सत्ता गठबन्धनको बैठक बस्दै, नागरिकता विधेयक र राष्ट्रपतिको कदमबारे पनि छलफल हुने

काठमाडौँ । सत्ता गठबन्धनको बैठक बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँटको टुङ्गो लगाउन कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बालुवाटारमा केहीबेरमा बैठक बस्न लागेको हो ।

पार्टी निकट स्रोतका अनुसार आजको बैठकमा सिट बाँडफाँटका साथै नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे छलफल हुनेछ । सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) ले दुई पटक पारित गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले निर्धारित समयमा प्रमाणिकरण गरिनन् ।

संविधानको धारा ११३ को उपधारा ९४० मा राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनःविचार गरी त्यस्तो विधेयक प्रस्तुतरूपमा वा संशोधनसहित पारित गरी पुनः पेश गरेमा त्यसरी पेश भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ ।

यसरी संविधानअनुसार विधेयक दोस्रो पटक पनि प्रमाणिकरण हुन सकेन भने अर्कातर्फ प्रतिनिधिसभाको चालु अधिवेशन पनि समाप्त भइसकेकाले अब सो विधेयक के हुन्छ भन्ने विषयमा आम नागरिकको चासो बढेको छ ।

प्रतिक्रिया दिनुहोस