हामी छिट्टै नै खेलकुद विश्वविद्यालय खाेल्नतिर लाग्नेछाैँ: प्रधानमन्त्री देउवा

सफल खबर संवाददाता

शुक्रबार, ३१ भदौ २०७९, १३ : १४
हामी छिट्टै नै खेलकुद विश्वविद्यालय खाेल्नतिर लाग्नेछाैँ: प्रधानमन्त्री देउवा

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने बताएका छन्। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा औपचारिक कार्यक्रम आयोजना गरी नवौँ राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री देउवाले युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालमा खेलकुद विश्वविद्यालय खोल्नुपर्ने प्रस्ताव गरेकाे उल्लेख गर्दै आफूले पनि खेलकुद विश्वविद्यालय खोल्नका लागि सुरुवात गर्ने योजना बनाएको बताए।

उनले भने, ‘नेपाल खेलकुदप्रति धेरै नै अघि छ। हामीले अझै ख्याति कमाउन बाँकी नै छ। तर पनि आलेम्पिकलगायत धेरै विधाबाट भाग लिएका हाम्रा साथीहरू हुनुहुन्छ। हाम्रा युवाहरू पनि धेरै खेलकुदमा रमाउँछन्। हाम्रो मन्त्रीज्यूले त मलाई खेलकुद युनिभर्सिटी खोल्नुपर्छ भन्नुभएको छ। हामी छिट्छै नै खेलकुद विश्वविद्यालयतिर खोल्न लाग्नेछौँ। तर अहिले कोभिडलगायतका धेरै कारणले गर्दा राष्ट्रिय आर्थिक अवस्था राम्रो छैन। तर पनि सुरुवात गर्ने हाम्रो सोचाइ छ। सुरुवात गर्नेछाैँ। त्यसले पनि भोलि हाम्रो देशमा युवाहरूको आकर्षण बढ्नेछ भन्ने विश्वास लिएको छु।’

सरकारले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफीको निर्माण गरेको हो। करिब १० लाख रुपैयाँमा राष्ट्रिय खेलकुदको विजेता टिमका लागि ट्रफी बनाइएको हो।

लगातार तीन संस्करणको प्रतियोगिता जित्ने टिमले स्थायी रूपमा विजेता ट्रफी आफूसँग राख्न पाउनेछ। नवौँ राष्ट्रिय खेलकुदको रनिङ ट्रफीलाई प्रदर्शनीका लागि सातै प्रदेश र तीन विभागीय टोलीमा पुर्‍याइनेछ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले ओलम्पियन एवं दक्षिण एसियाली खेलकुदका कीर्तिमानधारी दीपक विष्टको संयोजकत्वमा ५ सदस्सीय ट्रफी टूर कार्यदल गठन गरेको छ।

 

प्रतिक्रिया दिनुहोस