महाभियोग सिफारिस समितिको बैठक बस्दै, चोलेन्द्रलाई पूरक प्रश्न

सफल खबर संवाददाता

शुक्रबार, ३१ भदौ २०७९, ०८ : १३
महाभियोग सिफारिस समितिको बैठक बस्दै, चोलेन्द्रलाई पूरक प्रश्न

काठमाडौं । महाभियोग सिफारिस समितिको बैठक शुक्रबार पनि बस्दैछ । सिंहदरबारमा ९ बजेका लागि बोलाइएको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पूरक प्रश्न सोध्ने तयारी छ । 

 बिहीबार बसेको बैठकले समितिको बैठकले चोलेन्द्रलाई शुक्रबार पूरक प्रश्न सोध्ने निर्णय गरेको थियो ।  बिहीबार महाअभियोग सिफारिस समितिले जबराले बयानका क्रममा केही अधिवक्ताहरूलाई विभिन्न आरोप लगाएपछि उनीहरुसँग छलफल गरेको थियो ।

 समितिमा बयानका लागि अधिवक्ताहरू चन्डेश्वर श्रेष्ठ, शम्भु थापा, ओमप्रकाश अर्याल, पूर्णमान शाक्यलगायत उपस्थित थिए । उनीहरुको बयानसँगै यसअघि पहिलो चरणमा बयान दिइसकेका जबरालाई पुनः बोलाइएको हो । 

महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश जबराले नाम लिएका राजनीतिक दलका नेताहरु तथा न्यायाधीशहरूलाई समेत समितिमा बोलाउने सोच गरेको थियो । पछि राजनीतिक दलका नेताहरुलाई नबोलाउने तर न्यायाधीशहरूलाई बोलाउने भनिएपनि न्यायाधीशहरूले समितिमा नजाने निर्णय गरेसँगै अधिवक्ताहरू भने समितिमा गएका हुन् ।

समितिसँग बयानका क्रममा प्रधानन्यायाधीश जबराले अधिवक्ताहरूले आफूसँग पदको बार्गेनिङ गर्न आएको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस