नवौं राष्ट्रिय खेलकुद: त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश

सफल खबर संवाददाता

विहीबार, ३० भदौ २०७९, १३ : ३७
नवौं राष्ट्रिय खेलकुद: त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश

काठमाडौं । त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा फाइनल प्रवेश गरेको छ । बिहीबार तय भएको पहिलो सेमिफाइनल खेल राति परेको वर्षाका कारण मैदान भिजेपछि रद्द भयो । समूह विजेताको रूपमा सेमिफाइनलकाे यात्रा तय गरेकाे आर्मी खेल रद्द भएसँगै सिधै फाइनल पुगेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा समूह ‘ए’ को विजेता आर्मी र समूह ‘बी’ को उपविजेता सुदूरपश्चिम प्रदेशबीच खेल हुने तालिका थियो । तर, बुधबार रातिको लगातार वर्षाका कारण मैदान खेल्न योग्य नभएपछि खेल रद्द भएको हो । खेल रद्द भएपछि उत्कृष्ट नतिजाका आधारमा समूह ‘ए’ को विजेता आर्मी फाइनलमा प्रवेश गरेको छ ।

यो सँगै प्रतियोगितामा वर्षाका कारण रद्द भएको खेल संख्या १७ पुगेको छ । लिग चरणका ३२ खेलमध्ये १६ खेल रद्द भएको थियो । आजै हुने दोस्रो सेमिफाइनलमा एनआरएनए स्पोर्टस एकेडेमी र नेपाल पुलिस क्लबबीच खेल हुने तालिका छ ।

नवौं राष्ट्रिय खेलकुद असोज २८ गतेदेखि कार्तिक तीन गतेसम्म गण्डकी प्रदेशमा हुने तालिका रहे पनि सोही समयमा नेपाल टी २० लिग हुने भएपछि पुरुष क्रिकेटलाई अघि सारिएको हो । तर, टी-२० क्रिकेट समेत निर्धारित समयमा नहुने भएको छ ।

प्रतिक्रिया दिनुहोस