नेपाल–भारत सीमा समस्याको समाधान स्थापित द्विपक्षीय संयन्त्रमार्फत् खोजिने

सफल खबर संवाददाता

बुधबार, २९ भदौ २०७९, ११ : २४
नेपाल–भारत सीमा समस्याको समाधान स्थापित द्विपक्षीय संयन्त्रमार्फत् खोजिने

काठमाडौं । नेपाल र भारतका परराष्ट्र सचिवले दुई देशबीच रहेका सीमा समस्याको समाधान स्थापित द्विपक्षीय संयन्त्र मार्फत खोजिनुपर्नेमा सहमति जनाएका छन् ।मंगलबार भारतको राजधानी नयाँदिल्लीस्थित हैदरवाद हाउसमा सम्पन्न नेपाल–भारत विदेशमन्त्री स्तरीय बैठकमा उक्त सहमति भएको हो । 

बैठकमा परराष्ट्र सचिव भरत राज पौड्याल र भारतीय विदेश सविच विनय मोहन क्वात्रा सहभागी थिए । ‘उनीहरुबीच सीमा विवादका विषयमा पनि छलफल भएको थियो । यस सम्बन्धमा उनीहरूले स्थापित द्विपक्षीय संयन्त्रमार्फत सीमानाका बाँकी कामहरू पूरा गर्ने विषयमा विचार आदानप्रदान गरेका थिए,’ परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

बैठकमा उनीहरुबीच व्यापार, पारवहन, कनेक्टिभिटी, पूर्वाधार, विद्युत् क्षेत्र, सिँचाइ तथा डुबान, कृषि, लगानी, विकास सहयोग, स्वास्थ्य क्षेत्रमा सहकार्य, संस्कृति र जनताबीचको सम्बन्धलगायतका विविध क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको थियो ।

दुवै देशका परराष्ट्र सचिवले विद्युत क्षेत्र, प्रसारण लाइन निर्माण, रेलवे कनेक्टिभिटी, आईसीपी निर्माण, पुल र अन्य महत्वपूर्ण पूर्वाधार लगायतका विभिन्न क्षेत्रमा भएको प्रगतिमा सन्तोष व्यक्त गरेका थिए ।

बैठकमा मल आपूर्ति, गहुँ, चिनी, धान र चामल निकासीमा लगाइएको प्रतिबन्ध हटाउने विषयमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस