शीर्ष राजनीतिक दल नसुध्रिएसम्म मुलुक समृद्ध बन्दैन : अध्यक्ष लिङ्देन

सफल खबर संवाददाता

मंगलबार, २८ भदौ २०७९, १४ : ४६
शीर्ष राजनीतिक दल नसुध्रिएसम्म मुलुक समृद्ध बन्दैन : अध्यक्ष लिङ्देन

पर्वत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले शीर्ष राजनीतिक दलहरू नसुध्रिएसम्म मुलुक समृद्ध नबन्ने बताएका छन । पर्वतको सदरमुकाम कुश्मा बजारमा मंगलबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उहाँले राजनीतिक दलका गलत क्रियाकलापहरूले नै मुलुक समस्यामा पर्दै गएको समेत बताए। उनले भ्रष्टाचार र अनियमितता मौलाउँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै शीर्ष दलहरूले भ्रष्टाचारलाई संस्थागत गर्दै लगेको समेत आरोप लगाए । अध्यक्ष लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले ३० वर्ष भन्दा बढी शासन गरे पनि नयाँ शब्द बाहेक काममा नयाँपन ल्याउन नसकेको बताए ।

उनले भने, ‘ठूला दलहरूसँग न मुलुक बनाउने स्पष्ट खाका छ, न रोजगारी सिर्जना, कलकारखाना संचालन, बढ्दो युवा पलायन दर घटाउने कुनै योजना छैन्’। ‘जबसम्म निर्वाचन मार्फत ठूला दलहरू पराजित हुँदैनन् तबसम्म यहि अवस्थाले निरन्तरता पाईरहन्छ ।’

ठूला दलहरूको पार्टी कार्यालय र कार्य समिति मात्र फरक रहेको उनले बताए । तर भ्रष्टाचार गर्ने र देशलाई लुट्ने बेला एउटै दल जस्तै हुने गरेको बताए । उनले गठबन्धनको नाममा मुलुकको अस्तित्व समाप्त पार्ने र लोकतन्त्र धरापमा पार्न खोजिएको आरोप समेत लगाए । नीति, विचार र सिद्धान्त नमिल्ने दलहरू एक ठाउँमा उभिनु भनेको मिलिजुली खानका लागि बाहेक मुलुककाहितका लागि केही उपलब्धी नहुने उनले बताए।

प्रतिक्रिया दिनुहोस