काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको औद्योगिक विकासका लागि सरकारले सरल तरिकाले जग्गा प्राप्तिको व्यवस्था मिलाउनुपर्ने बताएका छन् । प्राप्त भएको जग्गामा पूर्वाधार विकास गर्न पनि सरकारले सघाउनुपर्ने उनको भनाइ छ । उनले औद्योगिक क्षेत्रमा उद्योगहरुलाई लिज सम्झौताको समयावधि बढाउनुपर्ने पनि उल्लेख गरे ।
बुटवल उद्योग वाणिज्य संघले सोमबार बुटवलमा आयोजना गरेको ६९ औं साधारणसभा उद्घाटन समारोहमा अध्यक्ष गोल्छाले कोरोना महामारी, कर्जा प्रवाहमा तरलताको अभाव, रुस–युक्रेन युद्ध लगायतका कारणले उद्योगी व्यवसायी ठूलो मारमा परेको भए पनि श्रीलंका र पाकिस्तानको जस्तो समस्या नेपालमा नआउने दाबी गरे ।
‘समस्या छ, नभएको होइन,’ उनले भने, ‘अब देश श्रीलंका, पाकिस्तान जस्तो हुन्छ भन्ने शब्दले उद्योगी व्यवसायीको मनोबल गिराएको छ, हामीले विज्ञहरुसँग पनि परामर्श गरेका छौं, त्यस्तो दुर्घटनामा फस्ने खालको समस्या नेपालमा छैन ।’
गोल्छाले बैंकको व्याजदर सय प्रतिशतभन्दा बढी भएको उल्लेख गर्दै त्यसले उद्योगी व्यवसायीलाई ठूलो समस्या भएको बताए । मुलुकको अर्थतन्त्र सुधारका लागि सन् २०३० सम्मलाई लक्षित गरेर महासंघले ल्याएको भिजन पेपरलाई सरकारले ग्रहण गरेमा कतिपय कुरा सम्बोधन हुने बताए । उद्योगी व्यवसायीको समस्या समाधानका लागि महासंघले विज्ञहरुसँग सल्लाह गर्ने र पहल पैरवी गर्ने काम गरिरहेको उनको भनाइ थियो ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले खुला सीमाका कारण यस क्षेत्रका व्यवसायी मारमा परेको जानकारी गराउँदै समस्या समाधानका लागि पहल गरिदिन महासंघलाई आग्रह गरे । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलमा मोतिपुर औद्योगिक क्षेत्र निर्माणका लागि जग्गाको नापजाँच सुरु भएको बताए । त्यस्तै बुटवल–१५ मा कृषि थोक बजार केन्द्र निर्माणको तयारी भएको उनले बताए ।
महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले सरकारी नियमनले उद्योगी व्यवसायीलाई हतोत्साही बनाएको बताउँदै समस्या समाधानका लागि महासंघले नेतृत्व लिनुपर्ने बताए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले उद्योगी व्यवसायीहरुले आफ्ना हक अधिकारसँगै उपभोक्ताको हितमा पनि उत्तिकै ध्यान दिनुपर्ने बताए । उनले रात्रिकालीन व्यवसाय मापदण्ड स्वीकृत भइसकेको जानकारी गराउँदै मापदण्ड अवलम्वन गरेर व्यवसाय सञ्चालन गर्न अनुरोध गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ भदौ २०७९, १६ : २९
लेखकबाट थप