गठबन्धनले मुलुकलाई राजनीतिक स्थिरिता, विकास र समृद्धिको बाटोमा अग्रसर गराउँछ : मन्त्री कार्की

सफल खबर संवाददाता

मंगलबार, २१ भदौ २०७९, ११ : ००
गठबन्धनले मुलुकलाई राजनीतिक स्थिरिता, विकास र समृद्धिको बाटोमा अग्रसर गराउँछ : मन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनले नै राजनीतिक स्थिरता, विकास र समृद्धिको बाटोमा देशलाई अग्रसर बनाउने बताएका छन्। मंगलबार मन्त्रालयमा नेपाल प्रेस युनियनसम्वद्ध पत्रकारहरूसँगको भेटमा उनले यस्तो बताएका हुन्।

नेपाल प्रेस युनियनसम्वद्ध पत्रकारहरूले नेपाल मिडिया काउन्सिल विधेयक र समसामयिक विषयमा मन्त्री कार्कीको ध्यानाकर्षण गराएका थिए।मन्त्री कार्कीले निर्वाचन निर्धारित समयमा सम्पन्न हुने उल्लेख गर्दै निर्वाचनमा अहिलेको गठबन्धन कायम रहनेमा शंका नरहेको बताए।

यो गठबन्धनले संविधानको, लोकतन्त्रको रक्षा गर्दै जनताको विकास र समृद्धिको चाहनालाई चाँडोभन्दा चाँडो व्यवहारमा कार्यान्वयन गरेर देखाउने उनको भनाइ छ।

मन्त्री कार्कीले भने, ‘निर्वाचन निर्धारित समयमा सम्पन्न हुन्छ र यो निर्वाचनमा अहिलेको जुन गठबन्धन छ, यो गठबन्धन कायम रहन्छ। यो गठबन्धनले मुलुकलाई राजनीतिक स्थिरता, विकास र समृद्धिको बाटोमा अग्रसर गराउँछ। यो गठबन्धनले मुलुकको राजनीतिलाई सही ट्रयाकमा ल्याउन गठबन्धनको निर्माण भएको हो। यो गठबन्धनले संविधानको, लोकतन्त्रको रक्षा गर्दै जनताको विकास र समृद्धिको चाहनालाई चाँडोभन्दा चाँडो भाषणमा, टेलिभिजनमा, दस्ताबेजमा होइन, व्यवहारमा अनुभूत हुने गरेर अघि बढाउने दृढ संकल्पका साथ अघि बढ्छ। सिटको बाँडफाँट व्यवस्थित रुपले चाँडै नै हुनेछ।’

उनले आगामी १० वर्षभित्र मुलुकलाई विश्वकै धनी देशका रूपमा परिचित गर्नका लागि एकताबद्ध भएर मुलुकको पक्षमा काम गर्नुपर्ने पनि बताए।

प्रतिक्रिया दिनुहोस