काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिरासतमा रहेका व्यक्तिसँग गफ गरिरहेको तस्वीर सोमबार दिउँसो फेसबुकमा राखेका छन् । उनको यो तस्वीर सार्वजनिक भएपछि प्रहरीले छानबिन समिति गठन गरेको छ । आइतबार बायोमेट्रिक्सका लागि भिएएफएस ग्लोबल पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठमाथि दुव्र्यवहार गरेको आरोप लागेपछि त्यहाँका सुरक्षागार्ड शेरजंग गुरुङ पक्राउ परेका थिए ।
उनलाई पक्राउ गर्न मन्त्री श्रेष्ठका पिएसओले उजुरी दिएका थिए ।तिनै गुरुङलाई लामिछानेले प्रहरी वृत्त दरबारमार्ग पुगेर सोमबार भेटेका हुन् । उनले भेटेपछि तस्वीर फेसबुकमा राखेका छन् ।तस्वीर बाहिर आएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले प्रहरी उपरीक्षकको नेतृत्वमा छानबिन समिति गठन गरेको कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रवीन्द्र धानुकले जानकारी दिएका छन् ।
प्रहरी उपरीक्षक दिनेशराज मैनालीको नेतृत्वमा समिति बनाएको हो । रविले गुरुङलाई भेट्दा त्यहाँ रहेका एक प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकलाई छानबिनका लागि रानीपोखरी तानेको बताए ।शेरजंग गुरूङमाथि अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको छ । उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० भदौ २०७९, १६ : २४
लेखकबाट थप