वागीश्वरी कलेजमा अन्तराष्ट्रिया मिडिया गोष्ठी शुरु

सफल खबर संवाददाता

सोमबार, २० भदौ २०७९, १२ : ०५
वागीश्वरी कलेजमा अन्तराष्ट्रिया मिडिया गोष्ठी शुरु

भक्तपुर । विद्यार्थीहरुलाई गरेर सिक्ने वातावरण सिर्जना गर्नका लागि वागीश्वरी कलेजको पत्रकारिता तथा आमसञ्चार विभागले दुई हप्ते अन्तराष्ट्रिय मिडिया विषयक कार्यशाला गोष्ठी शुरु गरेको छ । विद्यार्थीहरुले विभिन्न मुलृुकको पत्रकारिता इतिहास, कानुनी व्यवस्था र आचारसंहिताको खोजी गर्दै गोष्ठीमा आफ्नो कार्यपत्र प्रस्तुत गरी अध्येता र विज्ञहरुमार्फत टिप्पणी गराइ कार्यपत्रलाई कसिलो बनाउने गरी गोष्ठी गरिएको हो । 

गोष्ठीको उद्घाटन गर्दैै वागमति प्रदेशका सभासद् सुरेन्द्रराज गोसार्ईले कार्यपत्र प्रस्तुतिले विद्यार्थीमा थप सिक्ने वातावरण निर्माण हुने बताए । आइतवार विद्यार्थी एलिना भेलेले उत्तर कोरियाको मिडिया विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन् । उत्तर कोरियाबारे पश्चिमी मुलुकका मिडियाहरुले अनर्गल ढंगको प्रचार गर्ने गरेको र आफूले खोज्दा पनि त्यस्तै कुराहरु व्ढी भेटेको र वास्तवमा प्रजग कोरियामा प्रचार गरिएजस्तो तानाशाही नभएको स्पष्ट पारिन् । कार्यपत्रमाथि टिप्पणी गर्दै सभासद् सुरेन्द्रराज गोसाईंले आफूले प्रजग कोरियाको भ्रमण गर्दा नितान्त बेग्लै ढंगले पाएको अनुभव सुनाए । कोरियामा इन्टरनेटको सुविधा व्यापक रुपमा रहेको र विज्ञान तथा प्रविधिको विकास अद्भुत ढंगले भएको पाएको स्मरण सुनाए । 

पश्चिमा मुलुकहरुले झुठको खेती गर्दै संसारलाई समाजवादी व्यवस्था नराम्रो हुने अभिप्रायले उत्तर कोरियाको अनर्गल प्रोपोगन्डा गरेको पाएको उनले स्पष्ट पारे । उत्तर कोरिया समाजवादी मुलुक भएकाले पश्चिमाहरु र खासगरी अमेरिका डराएकैले प्रजग कोरियाको वरपर दक्षिण कोरिया र जापानमा अमेरिकी सेना तैनाथ गरेको उनले बताए । उनले भने,‘ प्रजग कोरिया एकीकरण हुनुपर्दछ र अमेरिकाले यसमा हस्तक्षेप अन्त गर्नुपर्छ अनि झुठको प्रचार गर्न बन्द गर्नुपर्छ । ’उत्तर कोरियाले अमेरिकी आतंकबाट बच्नकै लागि हातहतियारको विकास गर्नु परेको र उसले नयाँ वैज्ञानिक अन्वेषणका लागि नेपालको बजेटभन्दा वढी व्यवस्थ ागर्ने गरेको जानकारी पनि उनले दिए ।

उत्तर कोरियामा भ्रमण गरेर सो मुलुकको बारेमा अध्ययन गरेका पत्रकार जीवन ढुुंगानाले पनि यता पढेको उत्तर कोरिया र हेरेको उत्तर कोरियाबीच आकाश पातालको फरक भएको पाए । उत्तर कोरियाले देशको सुरक्षाका लागि कडाइ गरेको तथ्य वास्तविक भएको र अमेरिकी दादागिरी अन्त नभएसम्म जारी रहने उनले बताए । देशको सार्वभौमिकता , अखण्डता र स्वाभिमानका लागि उत्तर कोरियाका पत्रकारले देशको हितको लागि लेख्ने गरेको भन्दै विश्वका कुनै पनि मुलुकले देशको विरुद्धमा नलेख्ने दृष्टान्त प्रस्तुत गरे ।नेपालमा पनि विभिन्न साइटहरु प्रतिवन्ध गरेजस्तो मुलुकलाई हानी गर्ने मिडियाका खबरलाई उत्तर कोरियाले निगरानीमा राख्ने गरेको र सोही अनुसार नै इन्टरनेटको पहुँच दिएको उनले बताए । अमेरिकी नाकाबन्दीका बाबजुद पनि उत्तर कोरियाले आफ्ना जनतालाई गास, बास र कपासको ग्यारेन्टी गर्दै प्रेस स्वतन्त्रताको अनुभुति दिएको उनले टिप्पणी गरे ।

राजनीति शास्त्रका शिक्षक एवम् अधिवक्ता विकल प्रजापतिले उत्तर कोरियाको प्रेस कानुन र अन्य मुलुकको प्रेस कानुनमा तात्विक भिन्नता नभएको तर उत्तर कोरिया जाने बाहिरी पत्रकारले अमेरिकाको लागि जासुस गर्ने गरेको पाएकोले पश्चिमा पत्रकारहरुलाई केही कडाइ गरेको बताए । उनले भने,‘हामी हाम्रो घरमा शत्रु नछिरोस् भनेर त कडाइ गर्छौं भने उत्तर कोरियाले देशको सार्वभौमसत्ता सुरक्षाका लागि प्रेस माथि नियमन गर्नु सामान्य हो । ’वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले विद्यार्थीहरुको ज्ञान अभिवृद्धिका लागि कलेजले वातावरण निर्माण गर्ने गरेको र अन्तराष्ट्रिय परिस्थिति बुझ्न बुझाउन यस्ता कार्यक्रम गर्ने वागीश्वरीको संस्कार रहेको बताए । 

पत्रकारिता तथा आमसञ्चारका शिक्षक पूर्णभक्त दुवालले दुई हप्ते गोष्ठीमा विद्यार्थीहरुले विभिन्न मुलुकको मिडियाबारे अध्ययन गरी कार्यपत्र प्रस्तुत गरी विज्ञहरुको सल्लाह र सुझाव अनुसार परिमार्जन गर्ने जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस