चितवनवासीको रेल चढ्ने सपना पुरा गर्छु : प्रचण्ड

विहीबार, २८ मंसिर २०७४, १६ : ५२
चितवनवासीको रेल चढ्ने सपना पुरा गर्छु : प्रचण्ड

चितवन,  २८ मंसीर । चितवन क्षेत्र नं ३ बाट विजयी सांसद पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनबाटै दुई वटा रेल कुद्ने सपना पूरा हुने बताएका छन् ।

पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विजयी र्‍यालीका क्रममा भरतपुर–९ स्थित वडा कार्यालयमा पुगेर चितवनवासीको रेल चढ्ने सपना विपनामा परिणत हुने बताए ।

कार्यकर्ताका साथमा उत्साहित हुँदै उनले भने– चितवन एउटा लुम्बिनीबाट र अर्को काठमाडौँबाट आउने रेलको ट्रान्जिट प्वाइन्ट बन्छ । अब चितवनबाटै सरर दुईवटा रेल कुद्ननेछ ।

नेता प्रचण्डले चुनावको बेला आफूले गरेका प्रतिबद्धताहरु पूरा गर्दैै जाने बताए । उनले थपे, तपाईंहरुले ममाथि देखाउनु भएको विश्वास गुम्न दिन्न । अन्तिमसम्म प्रतिबद्धता पूरा गर्न युद्धस्तरमा होमिने छु । विजयीपश्चात् तीन दिन मतदाताहरुले गरेको स्वागत र मप्रति देखाएको उत्साहले मलाई झनै गम्भीर बनाएको छ, म यहाँको विकास, निर्माण र समस्या समाधानमा कटिबद्ध रहनेछु ।

मंगलबारदेखि आफ्नो निर्वाचन क्षेत्रमा घरदैलोमा अभियान थालेका प्रचण्डले विभिन्न स्थानमा भएका विजय र्‍याली र स्वागत कार्यक्रममा जनताको वाचा कसम पूरा गरेरै छाड्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस