सत्ता गठबन्धनको बैठक ३ बजे बस्दै

सफल खबर संवाददाता

आइतबार, १९ भदौ २०७९, १२ : ३३
सत्ता गठबन्धनको बैठक ३ बजे बस्दै

काठमाडौं । आगामी निर्वाचनमा सिट बाँडफाँटबारे सत्ता गठबन्धन दल निर्णायक छलफलमा जुटेका छन् । पार्टीभित्र दुई दिनसम्म छलफल गरेका दलहरु आज आइतबार पनि छलफलमा जुट्दैछन् ।

गठबन्धनका शीर्ष नेता र कार्यदलका सदस्यहरुको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।बैठकअघि नेताहरुले पार्टीभित्र र अन्तरपार्टीसमेत छलफल गरेका छन् ।

यस्तै, आइतबार नै बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । दुई शीर्ष नेताबीच सिट बाँडफाँटबारे समान धारणा बनाउनेबारे छलफल भएको छ ।

कार्यदलमा पाँच दलले आ–आफ्नै दाबी पेश गरेका छन् । १६५ निर्वाचन क्षेत्रमा २ सय ३४ क्षेत्रका लागि आ–आफ्नै दाबी परेको छ। कांग्रेसले १०० सिटमा दाबी गर्दा माओवादीले ६० सिट नछाड्ने अडान लिएको छ। त्यस्तै एकीकृत समाजवादीले ४० सिट दाबी गर्दै आएको छ । यस्तै जनता समाजवादीले ३२ तथा राष्ट्रिय जनमोर्चाले दुई सिटमा दाबी गरेको छ ।