सिपिएलमा जमैकाको लगातार दोस्रो जित

सफल खबर संवाददाता

आइतबार, १९ भदौ २०७९, ११ : १४
सिपिएलमा जमैकाको लगातार दोस्रो जित

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेआबद्ध जमैका ताल्लावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा लगातार दोस्रो जित हात पारेको छ  ।उसले गएराति गयना अमेजन वारियर्सलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो । तर, यो खेलमा पनि नेपाली टिमका कप्तान सन्दीप लामिछानेले मौका पाएनन् । उनले अघिल्लो खेलमा पनि अवसर पाएका थिएनन् ।

आफ्नो दोस्रो खेलमा १४३ रनको लक्ष्य जमैकाले ४ बल बाँकी छँदा ६ विकेट गुमाएर भेट्यो । उसका लागि कप्तान रोभम्यान पावेलले अविजित ४४ रनको योगदान दिए ।ब्रेण्डन किंग्सले ३२, इमाद वसिमले १८ तथा क्रिस ग्रीनले अविजित १७ रन बनाए । वारियर्सका लागि गुणकेश मोतीले दुई तथा रोमारियो शेफर्ड, ताबरेज शम्सी, ओडेन स्मिथ र इमरान ताहिरले समान १ विकेट लिए ।

त्यसअघि वार्नर पार्कमा टस हारेर ब्याटिङको निम्तो पाएको वारियर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४२ रन बनाएको थियो । उसका लागि कप्तान शिमरन हेटमायरले ३९, रोमारियो शेफर्डले ३६ शाई होपले २५ तथा हेनरिक क्लासनले अविजित २२ रन बनाए ।

जमैकाका लागि मोहम्मद आमिरले तीन, मिगाल पिट्रोरियसले दुई तथा निकोल्सन गोर्डनले एक विकेट लिए । यो जितसँगै दुई खेलमा चार अंक जोडेको जमैका शीर्ष स्थानम रहँदा वारियर्सले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । 

प्रतिक्रिया दिनुहोस