एउटै गाउँपालिकामा तेह्र जलविद्युत् आयोजना

पत्रपत्रिकाबाट

आइतबार, १९ भदौ २०७९, ०८ : ०२
एउटै गाउँपालिकामा तेह्र जलविद्युत् आयोजना

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकामा ठूला–साना गरी १३ वटा जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा छन् । धौलागिरि हिमालको फेदी भएर बग्ने म्याग्दी र यसको सहायक नदी र खोलामा यी विद्युत् आयोजना निर्माण भइरहेका हुन् । 

ती आयोजनाको कुल उत्पादन क्षमता करिब २३८ मेगावाट छ । यस क्षेत्रमा जलविद्युत् विकासको प्रचुर सम्भावना भए पनि भौगोलिक विकटता र प्रसारण लाइन नहुँदा अपेक्षाअनुसार आयोजना अगाडि बढ्न सकेको थिएन । पछिल्ला केही वर्षयता गाउँपालिका र विद्युत् आयोजनाले सडक निर्माण गरेका छन् भने नेपाल विद्युत् प्राधिकरणले पनि सबस्टेसन तथा प्रसारण लाइन निर्माण थालेको छ । यसले गर्दा लगानीकर्ता आयोजना निर्माणमा सक्रिय भएका हुन् । 

धौलागिरि गाउँपालिका–४, मुदीको जेल्टुङमा ३७ मेगावाटको अपर म्याग्दी र मुदीकै दोभानमा निर्माण हुने ५७ मेगावाट क्षमताको म्याग्दी हाइड्रोपावरको पहुँच मार्ग निर्माण हँुदै छ । मुदीमा निर्माण हुने जलविद्युत् आयोजनाले मालिका गाउँपालिकाको शिवरात्रि खोलादेखि भारवाङ, कल्लेनी, छहरी, खारा, खाम्ला हुँदै नाउरासम्म १० किलोमिटरभन्दा बढी सडक मार्ग खोलेको छ । 

हाइड्रो इम्पायर प्रालि, काठमाडौँले धौलागिरि–४, मुदीमा ३७ मेगावाट क्षमताको अप्पर म्याग्दी जलविद्युत् आयोजना निर्माणको अनुमति लिएको छ । सो आयोजनाका अध्यक्ष जितबहादुर घर्तीले पहुँच मार्ग निर्माण सकेपछि सुरुङ, विद्युत्गृह निर्माण थाल्ने तयारी भएको बताए । यसैगरी ५३ मेगावाट क्षमताको अप्पर म्याग्दी पहिलो, १४ मेगावाट क्षमताको मुदीखोला र ५७ दशमलव ३० मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले निर्माणको अनुमति लिएका छन् । 

अप्पर म्याग्दी जलविद्युत् आयोजनाले छहरीमा साइट कार्यालयको भवन बनाउन थालेको छ । मुदीमा दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडले २३.७० मेगावाट क्षमताको म्याग्दीखोला ‘ए’ र धौलागिरि–१, गुर्जामा १५ मेगावाट क्षमताको धौलाखोला जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा छन् । एभरेस्ट इनर्जी एन्ड इन्फ्रास्ट्रक्चर प्रालिले मुदीमा १४ मेगावाट क्षमताको मुदीखोला निर्माणको अनुमति पाएको छ । सुसमित हाइड्रोपावर लिमिटेडले २० मेगावाट क्षमताको कुनबान खोला जलविद्युत् आयोजना निर्माणका लागि अनुमति मागेको छ । 

यसैगरी दरखोला हाइड्रोपावर लिमिटेडले ६.५ मेगावाट क्षमताको दरखोला साना जलविद्युत् आयोजना, मुदीमा सिम्कोस हाइड्रोपावर लिमिटेडले मुदीमा .४५ मेगावाट क्षमताको सिम्कोस जलविद्युत् आयोजना, फ्रेस वाटर इनर्जी नेपालले १२.७३ मेगावाट क्षमताको अप्पर मुदी र सुसमित इनर्जीले ९.५ मेगावाट क्षमताको म्याग्दीखोला ‘बी’ जलविद्युत् आयोजना सर्वेक्षणको अनुमति लिएको छ । प्रकाश जोशीले मुदीमा ४.६ मेगावाट क्षमताको तिरिजा खोला जलविद्युत् आयोजना सर्वेक्षणको अनुमति लिएका छन् । गोरखापत्र दैनिकमा खबर छ ।