काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड पियेर इमरिक औबामेयाङ प्रिमियर लिग क्लब चेल्सीमा अनुबन्धित भएका छन्। औबामेयाङलाई भित्र्याउन चेल्सीले १० दशमलब ३ मिलियन पाउण्ड खर्च गरेको छ ।
३३ वर्षीय फरवार्ड औबामेयाङ बार्सिलोनामा रहँदा २४ खेल खेल्दै १३ गोल गरेका थिए। गत सिजन बार्सिलोनका प्रशिक्षकमा जाभी हर्नान्डेज नियुक्त भएपछि इंग्लिस क्लब आर्सनलबाट औबामेयाङलाई बार्सिलोनाले अनुबन्धन गरेको थियो ।
पोलिस फरवार्ड तथा जर्मन क्लब बार्यन म्युनिखका स्टार स्ट्राइकर रोर्बट लेवान्डोस्कीलाई बार्सिलोनाले भित्र्याएसँगै औबामेयाङलाई बेच्ने योजना बनाएका थियो। उनले आर्सनलमा रहँदा १६३ खेल खेल्दै उनले ९२ गोल गरेका थिए । उनी आर्सनलमा आउनुभन्दा पहिला जर्मन क्लब बोरुसिया डर्टमन्डमा आबद्ध थिए। त्यतिबेला डर्टमण्डका प्रशिक्षक रहेका थोमस टुचेलले नै अहिले चेल्सीको प्रशिक्षक सम्हालेका छन् ।
उनकै योजनामा औबामेयाङ चेल्सीमा अनुबन्धित भएका हुन् । डर्टमण्डमा रहँदा औबामेयाङले ९५ खेल खेल्दै ७९ गोल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ भदौ २०७९, १२ : २८
लेखकबाट थप