सम्पती शुद्धिकरणमा अन्तर्राष्ट्रिय रुपमा कालोसूचीमा पर्दा गम्भीर समस्या आउनसक्छ : गभर्नर अधिकारी

सफल खबर संवाददाता

बुधबार, १५ भदौ २०७९, १९ : २०
सम्पती शुद्धिकरणमा अन्तर्राष्ट्रिय रुपमा कालोसूचीमा पर्दा गम्भीर समस्या आउनसक्छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पती शुद्धिकरण (वित्तीय अपराध) सम्बन्धी जोखिम अन्तर्राष्ट्रिय मुलुकलाई देखाउने भन्दा पनि आन्तरिक रुपमा सुधार गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले सम्पती शुद्धीकरण निवारणका सम्बन्धमा गरेको छलफलमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

उनले मुलुकमा सम्पती शुद्धिकरण सम्बन्धी जोखिम धेरै रहेकाले सरकारले नियन्त्रण गर्न जरुरी रहेको बताए । गभर्नर अधिकारीले सम्पती शुद्धिकरणको समस्या क्षणिक नभएर दीर्घकालीन रुपमा सरकारले निराकरण गर्नुपर्ने बताए । उनले सम्पती शुद्धिकरणमा अन्तर्राष्ट्रिय रुपमा कालोसूचीमा पर्दा गम्भीर समस्या आउनसक्ने बताए ।

उनले सन् २००९ देखि २०१४ सम्म नेपाल अनुगमनमा परेका बेला संयुक्त राज्य अमेरिकास्थित नेपाली राजदूतावासको बैंक खाता खोल्न नाम चलेका अमेरिकी बैंकहरूले अस्वीकार गरेको स्मरण गरे । गभर्नर अधिकारीले अन्तर्राष्ट्रिय मुलुकहरुसँग सहकार्य र समन्वयन गर्नको लागि सम्पती शुद्धिकरणमा नेपालले आफ्नो सम्पूर्ण तयारी पूरा गर्नुपर्ने बताए ।

उनले नेपाल भ्रष्टाचारले गाँजेको र अवैध कमाई गर्नेहरुको शेयर भ्वाइसमाथि हुने गरेको भन्दै नेपाल सम्पती शुद्धिकरणमा कमजोर रहेको बताए । गभर्नर अधिकारीले नेपाल भ्रष्टाचार र हुण्डी कारोबारको जोखिममा रहेको बताए । उनले यसले गर्दा अन्तराष्ट्रिय मूल्याङ्कनमा कम नम्बर आएपनि सरकारी पक्षले राम्रो काम गरिरहेको बताए ।

गभर्नर अधिकारीले भने, ‘२०१० मा नेपाल सम्पती शुद्धिकरणको रेड जोनमा पर्दा अमेरिकाको बैंकले युएनको बैंकको खाता बन्द गरिदियो । त्यो बेला बैंक खोजेर हिड्नुप¥यो। कमजोर मुलुकको बैंकमा खाता खोलेर नेपालले काम चलायो । त्यस्तो खालको स्थितिहरु आउँछ । अर्काे मुलुकसँग अन्तर्राष्ट्रिय सहकार्य र समन्वयन नराख्ने मुलुकहरुलाई नेटवर्क भन्दा बाहिर राख्छ । जसले गर्दा असजिलो हुन्छ । ठूला मुलुकको आफ्नो शक्ति होला आफ्नै खालको नेटवर्क बनाउँछन् ।’

उनले थपे, ‘हामी जस्तो मुलुकलाई सम्भव हुँदैन । त्यसैले सम्पती शुद्धिकरणको लागि नेपालले आफ्नो सबै तयारी पूरा गर्नुपर्छ । हामी आफ्नो आन्तरिक रुपमा कजोर छौं । जहाँ भ्रष्टाचारले गाँजेको छ । अवैध कमाई गर्नेहरुको शेयर भ्वाइस रहन्छ । अवैध नगर्ने सोझा र इमान्दार मान्छेहरु पछि पर्दै जान्छन् । मुलुक भोलि अर्कै किसिमले क्याप्चर हुने वातावरण हुन्छ । त्यो आन्तरिक रुपमा समस्या छन् । तर अन्तर्राष्ट्रिय रुपमा पनि यस्तो समस्याले गाँजेको छ । जे जस्तो तयारी गरेका छौं । सम्पती शुद्धिकरणको अनुसन्धान गर्न आउनेहरुले कहाँ गएर सोध्छन् थाहा हुँदैन । अहिले उनीहरुले निजी क्षेत्रको भनाइ सोध्ने गरेका छन् ।’

प्रतिक्रिया दिनुहोस